तपाईँ सुन्दै हुनुहुन्छः

देशले समृद्धिको बाटो अवलम्बन गरेको छ : मन्त्री बाँस्कोटा

कञ्चनपुर । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले देशले समृद्धिको बाटो अवलम्बन गरेको उल्लेख गर्नुहुँदै विभित्र परियोजनामा हुने ढिलासुस्ती क्रमिक रूपमा घट्दै गएको दाबी गर्नु भएको छ ।
प्रेस संगठन नेपाल कञ्चनपुरले मंगलबार बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले वैदेशिक लगानी भित्रिरहेकोले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा छिट्टै पूरा हूने बताउनु भयो ।

मन्त्री मण्डलबाट समाजवादी पार्टीले सर्मथन फिर्ता गरेको प्रसंगमा पत्रकारहरूले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सतहमा आएको चर्चाका सन्दर्भमा सरकारले अहिले नै कुनै छलफल नचलाएको उल्लेख गर्नुभयो ।
त्यस्तै मन्त्री बाँस्कोटाले भारतले आफ्नो नक्सामा समेटेको दार्चुलाको लिम्पियाधुरा, लिपुलेक क्षेत्र नेपालको भूमि भएकोले यस विषयमा द्विविधामा नरहन सबैलाई आग्रह गर्नुभयो । उक्त विषयमा नेपाल सरकारले यसअघि नै भारत सरकारलाई पत्र सम्प्रेषण गरिसकेको स्मरण गराउँदै द्विपक्षीय छलफलबाट समस्या समाधान गरिने उहाँले बताउनु भयो ।

पछिल्लो समयमा बढिरहेका जघन्य आपराधिक घटना न्युनीकरण गर्न सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा मन्त्री बाँसकोटाले जोड दिनुहुँदै निर्मला पन्त हत्याकाण्ड र त्यस प्रकृतिका अन्य आपराधिक गतिविधि प्रति सरकार गम्भीर रहेको बताउनु भयो ।
सभामुखको चयन सम्बन्धमा मन्त्री बाँस्कोटाले अन्य दलले अहिले सभामुख पाउन नसक्ने ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button