तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक- २०७६ बहुमतले पारित

काठमाडौँ । सङ्घीय संसद प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकले सुचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७६ लाई बहुमतले पारित गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले सो विधेयक बहुमतको आधारमा पारित गरेको हो ।

विपक्षी दल नेपाली काँग्रेसको तर्फबाट समितिमा रहनुभएका सांसदहरुले भने विधेयकले संबिधानको मर्म विपरितको प्रावधान राखेको भन्दै फरक मत दर्ता गराउनुभएको छ ।

सत्ता पक्षका सांसदहरुले भने सुचना प्रविधिको क्षेत्रमा देखिएका बिसंगति रोक्न आवश्यक रहेको जनाउँदै विधेयकको समर्थन गर्नुभयो ।

बैठकमा सहभागी सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले डिजिटल प्रविधिका कारण देखिएका कतिपय संवेदनशील कुराहरुबाट समाजमा नकारात्मक असर परेको कारण कानुनी प्रबन्ध गर्नुपर्ने खाँचो देखिएकाले सरकारले यो विधेयकमार्फत सामाजिक मर्यादा कायम राख्ने उद्देश्य राखेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले नागरिक अधिकार कुण्ठित गर्ने भन्ने भनाईमा सत्यता नरहेको तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताप्रति विधेयकको कुनै सम्बन्ध नरहेको बताउनुभयो ।

लामो समयदेखि बिकास तथा प्रविधि समितिमा छलफलको क्रममा रहेको उक्त विधेयक अब प्रतिनिधिसभामा पेश हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button