तपाईँ सुन्दै हुनुहुन्छः

घाम लागेसँगै मध्यतराईमा राहत

बीरगंज । कठ्यांग्रिदो जाडो र शितलहरले प्रभावित मध्यतराईका बारा, पर्सा, रौतहटलगायतका जिल्लाहरुमा आज दिउँसो १२ः०० बजेपछि पहारिलो घाम लागेपछि राहत पुगेको छ ।

लामो समयदेखि अत्याधिक जाडो तथा शितलहरले विशेष गरी विपन्न वर्ग तथा दलित समुदायका महिला बालबालिकाहरु बढी प्रभावित भएका छन् । जाडोबाट प्रभावितहरु समेत आज दिउँसो घरको छत तथा खुला स्थानमा निस्केर घाम तापेका छन् ।

घाम नलाग्दा घर घरमा लामो समयदेखि फोहर रहेका कपडाहरु धुन गृहणीहरुलाई भ्याईन नभ्याई भएको छ । घाम लागेपछि वीरगंज लगायतका बजारमा समेत दैनिक उपभोग्य सामान खरिदका लागि उपभोक्ताहरुको भिड बढेको छ ।

त्यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीहरुको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा समेत सेवाग्राहीको संख्या एक साताको तुलनामा आज अत्याधिक रहेको जनाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button