तपाईँ सुन्दै हुनुहुन्छः

झापाको धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव शुरु

झापा   भद्रपुर । नेपालको पूर्वी सीमा नाका झापाको मेचीनगरमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ ।

पर्यटन वर्ष २०२० शुभारम्भको पूर्वसन्ध्यामा मेची उद्योग वाणिज्य संघको आयोजनामा मेचीनगको धुलाबारीमा शुरु महोत्सवको एक समारोहका बीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समुद्घाटन गर्नुभएको छ । महोत्सवको उद्घाटन हुँदै गर्दा आकाशमा हेलिकोप्टरबाट पुष्पवर्षा गरिएको थियो ।

संघका अध्यक्ष ऋषिराज तिम्सिनाको अध्यक्षमा महासचिव ध्रुव कनालले सञ्चालन गरेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सुखी नेपाली, समृद्ध नेपालको सपना साकार पार्न अन्तर्राष्टियस्तरको औद्योगिक व्यापारिक महोत्सवहरुले निकै ठूलो सहयोग पुर्याउने उल्लेख गर्नुभयो ।

उहाँले भ्रमण वर्षको पूर्वसन्ध्यामा महोत्सव आयोजना गरेर विदेशी पर्यटक भित्र्याउन मेची उद्योग वाणिज्य संघले आधारशीला तयार गरेको भन्दै संघको प्रशंसा गर्नुभयो ।

पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा केटाकेटीदेखि बृद्धबृद्धासम्मले चाहे अनुसारको मनोरञ्जन प्राप्त गर्ने, देशी विदेशी खाद्यान्न, लताकपडालगायतका वस्तु तथा सेवा प्राप्त गर्नसक्ने स्वागतका क्रममा संघका अध्यक्ष तिम्सिनाले जानकारी दिनुभयो ।

महोत्सवमा बिभिन्न खाले वस्तु तथा सेवाका दुई सय १० स्टल रहेका छन् । तीमध्ये १४ वटा बंगलादेशी, ५ वटा भारत र दुईवटा पाकिस्तानको स्टल रहेको महोत्सवको स्टल संयोजक राजुकुमार पोद्दारले जानकारी दिनु भयो ।

यी बाहेक रोटेपिङ, मौतका कुवा, सेल्फी जाने, चाकाचुलीलयातका मनोरञ्जनात्मक खेल तमासा रहेका छन् भने दैनिक राष्ट्रियस्तरका कलाकारको प्रस्तुति रहने उहाँले बताउनुभयो ।

महोत्सवमा नेपालको उद्योग व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा आर्थिक क्षेत्र सम्बन्धित अन्तरक्रिया, संभाषण, प्यानल डिस्कसन, विदेशी उद्योगी व्यापारीहरुसँग छलफलका कार्यक्रम पनि समावेश गरिएको संघका महोत्सव आयोजक समितिका संयोजक भूमि पौडेलले जानकारी दिनुभयो । महोत्सवको मुख्य प्रायोजक एशियन थाइफुड्सको उत्पादन रमपम चाउचाउ रहेको छ भने मेचीनगर नगरपालिका प्रमुख संरक्षकको रुपमा रहेको छ ।

उद्घाटन समारोहमा प्रदेशसभा सदस्य गोपाल बुढाथोकी, प्रदेशसभा सदस्य राधा थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेला महोत्सव समितिका संयोजक दिलसुन्दर श्रेष्ठ, महासंघका प्रदेश नं १ का अध्यक्ष नरेन्द्रकुमार खड्का, नेपाली कांग्रेस झापा उपसभापति राम कट्टेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

महोत्सवमा हेलिकोप्टर
महोत्सवमा हेलिकोप्टर मुख्य आकर्षणको रुपमा रहेको छ । इच्छुकले हेलिकोप्टबाट महोत्सव परिसरलगायत झापाको दृश्यावलोकन गर्न सक्नेछन् भने ताप्लेजुङको पाथीभरा दर्शन गर्नसक्ने महोत्वस सचिवालका संचार संयोजक शिशिर चम्लागाईले जानकारी दिनुभयो ।

मार्सीदेखि केसरसम्म
महोत्सवमा नेपालका प्रख्यात कृषि उपजहरु पनि स्टलको रुपमा रहेका छन् । कर्णाली अञ्चलको जम्लाको मार्सी चामलदेखि इलामको हिमाली क्षेत्र जौबारीमा यसै वर्षदेखि उत्पादन शुरु भएको बहुमूल्य वनस्पति केसरको स्टल रहेको संघका महासचिव कनालले जानकारी दिनुभएको छ ।

बिहीबारको आकर्षण
बिहीबार दिउँसो स्थानीय विद्यालयहरुको विविध प्रस्तुति रहने छ भने साँझ कलाकार कमल रसाइली, स्याण्डी एण्ड फ्युजनिष्ट व्याण्डको प्रस्तुति रहने संघका सचिव रविचन्द्र नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button