तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिरक्षा विश्वविद्यालय काभ्रेको पेरुङ्गे डाँडामा स्थापना गर्न स्वीकृति   

फाइल तस्बिर

काठमाडौँ ।  सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका क्षेत्रभित्र स्थापना गर्ने भएको छ ।

राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका सम्बन्धमा नीति तथा रणनीति निर्माण र कार्यान्वयनका लागि राज्यलाई आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादनको प्रमुख लक्ष्य राखेर बनेपा नगरपालिका– १३ र १४ स्थित पेरुङ्गे डाँडा वनक्षेत्रको ७५० रोपनी क्षेत्रमा विश्वविद्यालय खोल्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

उक्त विश्वविद्यालय स्थापनका लागि सरकारले यस आर्थिक वर्षको बजेटमा करीब रु २० करोड बजेट विनियोजन गरेको थियो । अहिलेसम्म मुलुकका लागि आवश्यक रणनीतिक तहको अध्यापनका लागि विदेशी संस्थामा निर्भर हुनुपरेको अवस्थामा उच्च प्राज्ञिक संस्थाका रुपमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय राष्ट्रहितमा कोशेढुङ्गा सावित हुनेछ ।

राष्ट्रिय सुरक्षानीति र रणनीतिअन्तर्गत प्रतिरक्षा क्षमतासहितको प्रभावकारी राष्ट्रिय सुरक्षा प्रणालीको आवश्यकतालाई सम्बोधन गर्न विश्वविद्यालय खोलिन लागिएको हो । विश्वविद्यालय सम्बन्धी अवधारणापत्र हाल तयारीको क्रममा रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

स्थापना हुने विश्वविद्यालयबाट राष्ट्रियसुरक्षा तथा प्रतिरक्षा विषयमा रणनीतिक र कार्यक्षेत्र तहमा नीति तथा रणनीति तर्जूमाका लागि आवश्यक ज्ञानका साथै अनुसन्धान, सुझाव र विश्लेषणसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ । सरकारले घोषणा गरेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न यस्ता बौद्धिक र रणनीतिक प्राज्ञिक संरचना आवश्यक हुनेछन् ।

राष्ट्रिय शक्तिका रुपमा आर्थिक, कुटनीतिक, सैनिक र सूचनालाई पूर्ण सन्तुलन र सामञ्जस्यसहित समन्वयात्मक हिसाबले परिचालन गर्न यस्तो विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नेछ । राष्ट्रका विविध क्षेत्रका प्रबुद्ध व्यक्तिबीचमा साझा उद्देश्य र लक्ष्य प्राप्तिका लागि रणनीतिक सोच र संस्कारमा समेत एकरुपता हुनुपर्ने आवश्यकताका आधारमा विश्वविद्यालय स्थापना गरिन लागिएको हो ।

विश्वविद्यालयलाई पूर्ण प्राज्ञिक स्वायततासहितको उच्च प्राज्ञिक संस्थाका रुपमा विकास गर्ने सरकारको ध्येय रहेको छ । उक्त विश्वविद्यालय स्थापनाका लागि करीब रु तीन अर्ब भन्दाबढी रकम लाग्ने बुझिएको छ । विश्वविद्यालय परिसरमा ऐतिहासिक किल्ला र गढीको महत्वका विषय तथा समग्र समेटेर अध्ययनका लागि सङ्ग्रहालय स्थापना गर्ने सोच अघि सारिएको स्थानीय जनप्रतिनिधि सूर्यनारायण नापितले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button