तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी झापा र दक्षिणी इलाममा जंगली हात्तीको आतंक

झापा । केही साता यता जंगली हात्तीको आतङ्कका कारण पश्चिमी झापा र दक्षिणी इलामका स्थानियहरु त्रसित बनेका छन् । झापाको पूर्वी सीमावर्ती क्षेत्र मेचीनगरमा सोलार फेन्सिङ जडानपछि हात्तीको हैरानी पश्चिमी क्षेत्र तिर सरेको हो ।

अहिले झापाको दमक नगरपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका र इलामको चुलचुली गाउँपालिका क्षेत्रका बस्तिहरुमा दिनहुँ जसो जंगली हात्ती पसेर किसानले लगाएको वालीनाली, अन्नपात खाईदिने गरेका छन् । विशेषगरी दमकको उत्तरी क्षेत्रमा हात्तिको समस्या वर्षाै देखिको हो । यस समस्यालाई समाधान गर्न नसक्दा स्थानीय आजित भएका छन् ।

स्थानिय सरकारले बिभिन्न विकल्प लगाएर हात्तीको समस्याबाट स्थानियलाई छुटकारा दिलाउन प्रयास गरेपनि सवै प्रयास विफल भएका छन् । अहिले थन्क्याएर राखेको धानको कुनिउ, घरमा राखेको भकारी समेत हात्तीका बथानले घर नै भत्काएर खाईदिने गरेको छ ।
एकातर्फ हात्तीका कारण ज्यानै जोगाउन कठिन भएको छ भने अर्कातर्फ किसानले बर्ष दिनसम्म खानका लागि फलाएको अन्नलाई शुरक्षित तवरले ढुक्कसंग राख्न समेत पाएका छैनन् ।

स्थानीय हम्सेदुम्से सामुदायिक वनमा बस्ने हात्ती रात परेपछि गाउँ छिर्ने गरेको दमक ३ का राजकुमार राईले बताउनुभयो । कहिले त दिउँसै पनि हात्तीको बथान देखिने गरेको छ । हात्तीले पाकेको धान खाने, माड्ने गरेका कारण किसानको वर्ष भरिको मेहनत पनि खेर गएको छ । यस्तै स्थानीयले लगाएको उखुबारी समेत हात्तीकै लागि ठिक्क छ । यसै गरी इलामको चुलाचुलीबासी पनि यही पीर भोगिरहेका छन् । चुलाचुली ४ आईतवारे वजारमा नै हात्तीले सटर भत्काएर त्यहाँको अन्नपात खाएको स्थानिय थिरप्रसाद दाहालले बताउनुभयो ।

भुटानी शरणार्थी क्याम्पबाट अहिले शरणार्थीहरु पुर्नवासमा गएका कारण जंगल वढेर झनै हात्तिको आतङ्क फैलिएको चुलाचुली ५ का स्थानिय उद्धव न्यौपानेले बताउनुभयो ।

चुलाचुली ५ का कमिक राईका अनुसार रातको समयमा दमक ३ वेलडागीको बाटो भएर चुलाचुली ५ चपेटीसम्म जान पनि हात्तीको जोखिम मोल्नुपर्छ । दमक ३ कै पदम तामाङ्ले पनि हात्तीको बथान नै गाउँ र खेतमा आएपछि धान थन्क्याउन पनि त्रास भएको बताउनुभयो ।

हात्ती आएपछि यस क्षेत्रका सर्वसाधारणहरु पुल्ठो बाल्ने, चिच्याउने, चर्काे आवाजमा हल्ला गर्ने र हात्तीबाट जोगिन खबरदारी गर्ने बाहेक विकल्पमा अरु केही गर्न सकेका छैनन् ।

केही समय अघि बिभिन्न संस्थाहरूले दिएको साइरन समेत बिग्रिएपछि हात्ती आउँदा लुक्नु, चिच्याउनु, पुल्ठो बालेर निस्कनुको विकल्प नभएको स्थानीयहरु बताउँछन् ।
केही दिनयता जंगली हात्तीका कारण दमक ३ र दमकसँगै जोडिएको चुलाचुली गाउँपालिकाको दक्षिणी क्षेत्रका बासिन्दा त्रसित बन्नु परेको हो । रातैभर हात्तीको उपद्रोका कारण सर्वसाधारणले सुत्न समेत नपाएको गुनासो गर्छन् ।

इलाम चुलाचुली ५ का वडाध्यक्ष चन्द्रकुमार थापाले हात्तीको समस्या समाधानका लागि बिभिन्न उपाय अपनाए पनि समस्याबाट मुक्ति नपाएको बताउनुभयो । झापा दमक ३ का वडाध्यक्ष नविन बरालले पनि यस समस्याको सामधान गर्नबाट आफुहरु अहिले सम्म विफल भएको बताउनुभयो ।
हात्तीको बासस्थान भत्काउनकै लागि गत वर्ष झापाको दमक नगरपालिका र इलामको चुलाचुली गाउँपालिकाले संयुक्त रुपमा स्काभेटर लगाएर झाडी समेत फाँडेको थियो । यस्तै बाटोभरि बत्तीको पनि बन्दोबस्ती गरिएको छ । तर हात्ती गाउँ पस्न नछाडेको स्वयम जनप्रतिनिधीहरु बताउछन् ।

स्थानीय तथा प्रदेश तहबाट सम्भव नभएमा केन्द्रीय सरकारबाट सहयोग लिएर पनि यो समस्यालाई समाधान गर्ने लक्ष्य रहेको चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले बताउनुभयो ।

यता दमक नगरपालिका वडा न. ३ का अध्यक्ष नविन बरालका अनुसार नगरपालिकाको तर्फबाट तत्कालको समस्या समाधानका लागि नगरपालिकाको गाडीमा साइरन जोेडेर जोखिमको क्षेत्रमा कुदाउने तयारी भइरहेको छ ।

उहाँका अनुसार यस अघि बिभिन्न संस्थाले दिएको साइरन पनि काम नै नगर्नेगरी बिग्रिसकेको छ । हात्ती गाउँ छिरेपछि साइरन जडान गरिएको गाडी कुदाउदा गाडीको प्रकाश तथा अवाजले हात्ती भाग्छ कि भन्ने आशा जनप्रतिनिधीको छ ।

साइरन जडित गाडीमा आवश्यकता अनुसार नगरप्रहरी तथा स्थानीय समेत बसेर हात्ती धपाउने कार्य थालिने वडाध्यक्ष बरालको भनाई छ ।

जंगली हात्तीका कारण दमकको उत्तरी क्षेत्रका वासिन्दा मात्र होईन झापाको दक्षिणी क्षेत्रमा रहेको चारकोसे झाडी आसपासका बासिन्दा समेत समस्यामा छन् । उता पूर्वी क्षेत्रमा सोलार फेन्सिङ्का कारण केही समस्या कम भएको छ । यद्धपी मानवीय क्षति भने बढी रहेको छ ।

पूर्वी क्षेत्रमा हात्तीले बाली–नालीमा पुर्याउने क्षति कम भए पनि पश्चिमी क्षेत्रमा कम हुन सकेको छैन ।

शिवसताक्षी, कमल, दमक तथा इलामको चुलाचुलीमा वर्षैभरि हात्तीको समस्या र त्रास रहन्छ । स्थानीय स्रोत साधनबाट यसको समाधानका लागि बिभिन्न प्रयास गरे पनि यसको दिगो समाधान आवश्यक रहेको इलाम चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीसँग स्रोत साधन पनि पर्याप्त छैन । सकेको उपाय गरिरहेका छौं ।’ तर यसको दिगो समाधानका लागि माथिल्लो तहका सरकारबाटै दीर्घकालीन योजनाको आवश्यकता पर्ने राईको भनाई छ ।

यस्तै दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले पनि हात्तीको समस्या समाधानको प्रयास गरिरहेको भएता पनि स्थानीय स्रोत साधनले मात्र नभ्याउने बताउनु भयो । समस्या समाधानका लागि सवै तहका सरकार र अन्य निकायहरु बीचमा पनि सहकार्यको खाँचो रहेको उहाँको धारणा छ । यता झापाको कमल गाउँपालिकामा भने हात्ती धपाउन जंगली हात्ती प्रभावित क्षेत्रमा सोलार बत्ती जडान गरिएको छ ।

यस क्षेत्रमा बारम्बार हात्ती आउने र क्षति र्पुयाउने भएकोले त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले सोलार बत्ती जडान गरिएको हो । यहाँको नेपाली सेनाको २१ नं वाहिनी अड्डालगायत मन्दिर क्षेत्रमा सोलार बत्ती जडान गरिएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र कमल गाउँपालिकाको सहकार्यमा सोलर बत्ति जडान गरिएको हो ।

सानु केर्खा स्थित किँरातेश्वर शिव पाञ्चायन मन्दिरमा २ थान, २१ नं वाहिनी अड्डको चार किनारामा ४ थान र सोनु केर्खाबाट इलामको चुलाचुली गाउँपालिका जाने हात्ती प्रभावित सडकमा ७ थान गरी जम्मा १३ थान सोलार बत्ती जडान गरिएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लले जानकारी दिनुभयो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौंबाट १० लाख ५० हजार रुपैयाँ र कमल गाउँपालिकाबाट ४ लाख ५० हजार रुपैयाँ गरी जम्मा १५ लाख रुपैयाँको लागतमो सोलार बत्ती जडान गरिएको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button