तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी कमिटी बैठक संगठन निर्माण सुदृढीकरणमा जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आजको बैठकमा पनि अध्यक्षद्धयले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन तथा महासचिवले प्रस्तुत गर्नुभएको बिधान संशोधनलगायतका विषयमा छलफल जारी रह्यो।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको आजको बैठकमा राजनीतिक प्रतिवेदनमा उल्लेख सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने लगायतका बिषयमा १०जना स्थायी कमिटी सदस्यले आ–आफ्नो बिचार राख्नुभएको छ ।

यससंगै बैठकमा हालसम्म २ जना आमन्त्रित सदस्यसहित ४८ जनाले आ–आफ्ना धारणा राखिसक्नुभएको छ भने अब महासचिवले आफ्नो धारणा राख्न बांंकी रहेको र उहांले अब बस्ने अर्को बैठकमा आफ्नो धारणा राख्नुहुनेछ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन लगायतका बिषयमा आएका सुझावहरुका सम्बन्धमा परिमार्जन गरी अगाडी बढ्नुपर्ने भएकाले अध्यक्षहरुबीच र आवश्यक परे सचिवालय बैठकमा छलफल गर्नुपर्ने हुंदा बैठक भोलीकालागि भने स्थगित गरिएको बताउनुभयो ।

प्रबक्ता श्रेष्ठले आजको बैठकमा बोल्ने स्थायी कमिटी सदस्यहरुले राजनीतिक प्रतिवेदन र बिधान संशोधन लगायतका बिषयमा सहमति जनाउंदै संगठन निर्माणको कार्यलाई सुदृढ गर्नुपर्ने, पार्टी्भित्रको गुटबन्दी निरूत्साहित गर्नुपर्ने, सरकारको कामलाई अझ प्रभावकारी बनाउनुपर्ने,केही कमजोरी सच्याउनुपर्ने लगायतका बिषयमा केही सुझाव दिनुभएको बताउनुभयो ।

आजको बैठकमा स्थायी कमिटी सदस्यहरु झलनाथ खनाल, माधव कुमार नेपाल,ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ,रामबहादुर थापा,किरण गुरुंग,चक्रपाणि खनाल,सुभाष नेम्वांग,भीम आचार्य र बिष्णु रिमालले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

नेकपा स्थायी कमिटीको अर्को बैठक शनिबार बिहान ११ बजे पुन बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button