तपाईँ सुन्दै हुनुहुन्छः

३१ बर्षदेखि लालपूर्जाविहिन स्थानीय अब पूर्जा पाउने

अछाम । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीवासीकोे लालपूर्जा पाउने आशा पुरा हुने देखिएको छ ।

त्यहाँका पाँच सय बढी घरधनि विगत ३१ बर्षदेखि लालपूर्जा विहिन रहेका थिए । मेल्लख गाउँपालिका वडा नं.३ ठाटीमा बिशेष नापी कार्यालयबाट नाप नक्सा हुन नसकेको भन्दै जग्गा दर्ताको लागि जिल्ला मालपोत कार्यालयले ३५ दिने सार्वजनिक सूचना गर्ने भएको हो ।

हालै जग्गा दर्ता सम्बन्धी समितिको बैठकले गठन आदेशको दफा ४ को उपदफा १ (क) बमोजिम ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्नको लागि मालपोत कार्यालयलाई सूचना प्रकाशन गर्नको लागि लेखि पठाउने निर्णय भएको छ । जग्गा दर्ताको लागि स्थानीय सञ्चार माध्यमबाट सूचना प्रसारण गर्ने मेल्लेख गाउँपालिकाका अध्यक्ष लोकबहादुर बोहराले बताउनुभयो ।

यस्तै बैठकले नापी विभागबाट आएका कर्मचारीलाई खटाउने, साविक ठाँटी गाविसका नक्सा श्रेस्ताहरु अछाम जिल्ला बिशेष नापी कार्यालयबाट बुझि लिन नापी कार्यालयका कर्मचारीहरुलाई तोक्ने पनि निर्णय भएको छ ।

मेल्लेख गाउँपालिकावडा नं. ३ ठाँटीका बासिन्दा ३१ वर्षदेखि लालपूर्जा विहिन भएका थिए । जमिनको विवादका कारण उनीहरु लालपूर्जा विहिन भएका थिए । साविक ठाँटी गाविस र कुस्कोट गाविसको सीमानामा रहेका भेडा लोटाउने र चनकाल्ना जग्गाको विबादका कारण करिब पाँच सय ३५ घरधुरी लालपूर्जा विहिन अवस्थामा रहेका छन् ।

जनप्रतिनिधि, स्थानीय, प्रशासनलगायतको पहलबाट प्रक्रिया अघि बढेको प्रमुख जिल्ला अधिकारी तथा जग्गा दर्ता सम्बन्धी समिति गठन समितिका अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button