तालिका बनाई काम गर्न कार्यालय प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमामा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कालिकोटमा निर्देशन दिँदै उहाँले कार्यक्रमको प्रभावकारी कार्यान्वयनले मात्र आर्थिक समृद्धि हासिल हुने र जनताको जीवनस्तर माथि उठ्ने छ भन्नुभयो ।
सो अवसरमा उहाँले ‘छोरी सुरक्षा’ कार्यक्रमको शुभारम्भ र विभिन्न विकास योजनाको अनुगमन समेत गर्नुभएको थियो । “विकास योजना, कार्यक्रम र बजेट कार्यान्वयनको बलियो अङ्ग भनेकै स्थायी संयन्त्र कर्मचारी हो,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “तसर्थ सरकारले ल्याएको नीति, बजेट तथा कार्यक्रम कार्यसूची बनाएर तालिका अनुसार काममा निर्वाध लाग्नुहोस् ।
कर्णालीको भौगोलिकता विकटता, जनशक्ति अभाव बजेट कार्यान्वयनको प्रमुख चुनौती भएको भन्दै जनशक्ति त्यसको व्यवस्थापनमा प्रदेश सरकार लागिपरेको उहाँले जानकारी दिनुभयो ।
मुख्यमन्त्री शाहीले कालीकोटका स्थानीय तहका प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्षलाई राखेर सङ्घीयता र जनताको मर्मअनुसार विकास योजनाको प्रभावकारी कार्यान्वयन र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित हुन सुझाउनुभयो । संविधान, सङ्घीयताको मर्म र जनअपेक्षाअनुसार विकास हुन नसकेको भन्दै उहाँले सबै तहका सरकारले जनतालाई अनुभूति हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।
अस्पताल अनुगमन
मुख्यमन्त्री शाही, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, स्वास्थ्य सेवा कार्यालय कालीकोटको अनुगमन गर्नुभएको छ । तीनअघि कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मी बस्नेत, सामाजिक विकास मन्त्रालयका सचिव डा मानबहादुर विकलगायतले उक्त अस्पतालको अनुगमन गरी उपचार सेवा, जनशक्ति परिचालन र उपकरणको प्रर्याप्तताका बारेमा जानकारी लिनुभएको थियो ।
मुख्यमन्त्री नेतृत्वको टोलीले आजै स्वास्थ्य कार्यालयको भौतिक संरचना, जनशक्ति र सेवा प्रवाह अवस्थाका अनुगमन गरेको छ । अनुगमनका क्रममा हाल ३० श्ययाको अस्पतालमा जनशक्तिको कमी, भौतिक उपकरण तथा संरचना अभावले सेवा प्रवाहमा देखिएको समस्या तीनै तहका सरकारको समन्वयमा समधान गर्ने मुख्यमन्त्री शाहीले बताउनुभएको छ ।
कार्यालय निर्मार्णाधीन ५० श्ययाको अस्पताल र पञ्चदेवल पर्यटनस्थलको पनि अनुगमन पनि टोलीले गरेको थियोे ।
निर्देशक समितिको बैठक
यसैगरी चालू आवमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सञ्चालन गर्ने लक्षित वर्ग विशेष कार्यक्रमअन्तर्गत निर्देशक समितिको बैठक मुख्यमन्त्री शाहीको अध्यक्षतामा कालीकोटमा सम्पन्न भएको छ ।
सम्बन्धित क्षेत्रको सांसदलाई राखेर लक्षित वर्ग विशेष कार्यक्रमको कार्यान्वयन, गाउँस्तरमा हुने कार्यक्रमको सञ्चालन, बस्तीमै पुगेर हुने सञ्चालक समिति गठन गर्नेलगायतका विषयमा बैठकमा छलफल भएको कृषिमन्त्री केसीले जानकारी दिनुभयो । मन्त्री केसीका अनुसार सहकारी नमूना गाउँको कार्यक्रम प्रभावकारिताका लागि नरहरिनाथ गाउँपालिका र समन्वय प्रमुखसँग पनि छलफल गरिएको थियो ।
मुख्यमन्त्री शाहीले यही मङ्सिर २७ गते जाजरकोट पुगेर कार्यालय प्रमुखलाई बजेट कार्यान्वयनमा तीव्रता दिन निर्देशन दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्