तपाईँ सुन्दै हुनुहुन्छः

सुकुम्वासीका घर बनाउँदै रत्ननगर नगरपालिका

रत्ननगर। रत्ननगर नगरपालिकाले सुकुम्वासी समुदायका लागि घर निर्माण शुरु गरेको छ । विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर घर बनाउन थालिएको हो । रत्ननगर नगरपालिका–८ बगर टोलमा रहेका सुकुम्वासीमध्ये नौ परिवारका लागि अहिले लुमन्ती आवासका लागि सहयोग समूहको सहकार्यमा घर निर्माणकार्य थालिएको छ । पछि सोही बस्तीमा यो सङ्ख्या २६ पु¥याइने छ । नगरपालिकाका प्रमुख नारायण वनका अनुसार घर निर्माणका लागि शुरुमा समूहले छ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने छ ।

ऋण तिर्नका लागि घर धनीहरुलाई उत्पादनशील क्षेत्रमा नगरपालिकाले अनुदान दिने भएको छ । उनीहरुले नगरपालिकाको सहयोगमा आर्थिक उपार्जन गरी ऋण तिर्नसक्ने वनले जानकारी दिनुभयो । यससँगै सडक, विद्युत्, ढल, घरका लागि आवश्यक काठलगायतका सहयोग नगरपालिकाले गर्नेछ । रु पाँच लाखदेखि रु सात लाखसम्म ऋण दिएर उनीहरुका लागि आकर्षक घर निर्माण गरिँदै छ । सम्पूर्ण घर निर्माण भएपछि सो बस्ती नमूना बस्ती हुने वनको तर्क छ ।

नगरपालिकाका प्रेस सल्लाहाकार होमनाथ सापकोटाका अनुसार यसअघि मुसहर बस्तीमा रोटरीको सहयोगमा १२, सपना भिलेजको सहयोगमा सात र गायक मिलन लामाको सहयोगमा पाँच गरी २४ घर निर्माण गरिएको थियो । नगरपालिकाभित्र खरको छानामुक्त बनाई सुरक्षित महसुसका साथ बस्नयोग्य घर बनाउन नगरपालिका लागिपरेको छ ।

नगरप्रमुख वनले नगरभित्र एक हजार ५०४ घरधुरी सुकुम्वासी रहेको भन्दै उनीहरुका लागि सुरक्षित घर, शौचालय, गोबरग्यास र सुन्दर बस्ती निर्माणका लागि सबैसँग सहयोगको आग्रह गरिएको बताउनुभयो । खर र दाउरा आवश्यक नहुने भएपछि वन्यजन्तुको जोखिममा नपर्ने हुँदा निकुञ्ज र स्थानीयबीचको द्वन्द्वसमेत घट्ने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button