तपाईँ सुन्दै हुनुहुन्छः

समाजमा साहित्यको योगदान महत्वपूर्ण : मन्त्री ज्ञवाली

पोखरा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समाजमा साहित्यको योगदान महत्वपूर्ण हुने बताउनुभएको छ ।

बुकवर्म फाउण्डेशन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा संयुक्त रुपमा यहाँ आयोजित ‘आइएमई नेपाल लिटरेचर फेस्टिबल’को आज समापन समारोहमा उहाँले समाजलाई साहित्यका माध्यमबाट अघि बढाउन साहित्यिक क्षेत्रका सर्जकहरुले महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो ।

मन्त्री ज्ञवालीले समाजको परिवर्तनमा साहित्यिक क्षेत्रको पनि उत्तिकै महत्व रहेकोमा जोड दिँदै साहित्यकार तथा समाजका विभिन्न व्यक्तिलाई एकैठाउँमा उभ्याउनु महत्वपूर्ण प्रयास भएको बताउनुभयो ।

नेपाल साहित्य महोत्सवले यस क्षेत्रको प्रचारप्रसार एवं साहित्यिक गतिविधिलाई अघि बढाउन विशेष सहयोग गरेको बताउँदै उहाँले यस्ता कार्यक्रमले पर्यटकीय नगरी पोखराको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखराको फेवाताल किनारस्थित बाराहीघाटमा यही मङ्सिर २७ देखि ३० गतेसम्म सञ्चालित फेस्टिबल २०१९ को सर्वोत्कृट अवार्ड अमिताव बग्चीलाई सम्मान गरिएको थियो । एक दर्जनभन्दा बढी विदेशी लेखकसहित १० भन्दा बढी वक्ता सहभागी रहेको फेस्टिबलमा ४० सेसन सञ्चालन गरिएको बुकवर्म फाउन्डेशनका निर्देशक अजीत बरालले जानकारी दिनुभयो ।

आठौँ संस्करणको आइएमई नेपाल साहित्य महोत्सवको चौथो अर्थात् अन्तिम दिन आज पोखरा साहित्यमय बन्यो । पोखराको तालबाराही चोक, लेकसाइडमा जारी महोत्सवमा अन्तिम दिन नायक विपिन कार्कीदेखि लेखक सौरभ, राजनीतिज्ञ प्रदीप गिरीसम्मले बहस गर्नुभएको थियो ।

महोत्सवकै अवसर पारेर कविशिरोमणि लेखनाथ पौड्यालको जन्मथलो अर्घाैं अर्चलेमा शिरोमणि संग्रहालय अवलोकन, शिरोमणि विमर्श, काव्यवाचन तथा पदयात्रा कार्यक्रम सम्पन्न भएको थियो ।

सनतकुमार वस्तीले लेखनाथ पौड्यालको कृति र प्रवृत्तिबारे जानकारी गराउनुभएको थियो । रोचक घिमिरेले पौड्यालका केही आनिवानी एवं स्वभावगत किस्सा सुनाउनुभएको थियो ।

महोत्सवमा अर्काे सेसन रह्यो, विदेशी मिडियामा नेपाल । यसमा सुम्निमा उदास, दीपक अधिकारी, रजनीश भण्डारीलाई छलफलमा उतार्नुभएको थियो, पावन माथेमाले । विभिन्न अन्तर्राष्ट्रिय मिडियामा काम गरेका उदास, अधिकारी र भण्डारीले त्यहाँका सञ्चारमाध्यमले नेपालका विविध पाटोलाई कसरी हेरिरहेका छन् भन्ने मात्र जानकारी गराएनन्, नेपालका सम्पदालगायत कला, संस्कृति आदिलाई कसरी बाहिर ल्याउन सकिन्छ भन्नेमा पनि बहस गर्नुभएको थियो ।

विदेशी मिडियामा नेपालका सगरमाथा, कुमारी जात्रा आदि विषयले कसरी स्थान पाएका छन्, कस्ताकस्ता विषयमा अन्तरराष्ट्रिय मिडियाले महत्व दिने गरेका छन् भन्ने विषयमा पनि उनीहरुले छलफल गर्नुभएको थियो । विसं २०७२ मा भारतले लगाएको अघोषित नाकाबन्दी र त्यसअघि गएको भूकम्पलगायतका बेला विदेशी मिडियाले नेपाललाई कसरी केन्द्रमा राखेर समाचार प्रकाशन, प्रसारण गरे भन्ने विषयमा समेत चर्चा भएको थियो ।

महोत्सवमा छाउ विद्रोह शीर्षकमा पनि संवाद चल्यो । यसमा मोहना अन्सारी, शृंखला खतिवडा, मेनुका ढुंगाना र राज सरगमले पश्चिम नेपालमा व्याप्त रुढीवादी परम्परा छाउबारे छलफल गर्दै छाउ जस्तो कुसंस्कार समाजको विकासका बाधक भएकोमा जोड दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button