तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी कमिटी बैठक : संगठन निर्माणको कार्यलाई सुदृढ तथा पार्टीभित्रको गुटबन्दी निरूत्साहित गर्नुपर्नेमा जोड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आजको बैठकमा अध्यक्षद्धयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन तथा महासचिवले प्रस्तुत गर्नुभएको बिधान संशोधनलगायतका विषयमा छलफल जारी रह्यो ।

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको आजको बैठकमा राजनीतिक प्रतिवेदनमा उल्लेख सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने, आगामी कार्ययोजनालगायतका बिषयमा १२ जना स्थायी कमिटी सदस्यले आ–आफ्नो बिचार राख्नुभएको छ ।

बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्यालगायतका बिषयमा सदस्यहरुले आ–आफ्नो बिचार राख्नुभएको र सबैले राजनीतिक प्रतिवेदन राम्रो भएको र केही समावेश गर्नुपर्ने सुझावसमेत दिनुभएको बताउनुभयो ।

नेकपाका प्रबक्ता श्रेष्ठले बैठकमा स्थायी कमिटी सदस्यहरूले संगठन निर्माणको कार्यलाई सुदृढ गर्नुपर्ने, पार्टीभित्रको गुटबन्दी निरूत्साहित गर्नुपर्ने, सरकारको कामलाई अझ प्रभावकारी बनाउनुपर्ने लगायतका सन्दर्भमा आफ्ना विचार, सुझाव र टिप्पणी गर्नुभएको बताउनुभयो ।

बैठकमा पार्टीलाई अझै क्रान्तिकारी र एक ढिक्का बनाएर अघि बढाउन पनि आवाज उठेको प्रबक्ता श्रेष्ठले बताउनुभयो ।

२०७७ सालभित्र राष्ट्रिय महाधिवेशन गर्ने गरी अघि बढ्न पनि बैठकमा सुझाव आएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

आजको बैठकमा बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, गणेश शाह, योगेश भट्टराई, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने ,अग्नि सापकोटा, युवराज ज्ञवाली, भीम रावल, देव गुरूङ, पम्फा भुसाल र देबेन्द्र पौडेलले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

प्रस्तावहरूमाथि भोलीपनि छलफल हुने र स्थायी कमिटी बैठक भोली बिहान ११ बजे पुन बस्ने प्रबक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button