तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा बम विष्फोट : प्रहरी निरीक्षकसहित तीनको मृत्यु

धनुषा-धनुषा जिल्लाकोे क्षिद्धेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगर बजार नजिकै राजेशकुमार शाहको घरमा गएराति अज्ञात समूहले राखेको प्रेशर कुकर बम विष्फोट हुँदा घरधनीसहित ३ जनाको मृत्यु भएको छ ।

घटनामा तीन जना घाइते भएका छन् ।महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्र्फे कुचाइ टोलमा पर्ने राजेश साहको घर बाहिरको पोलमा राखिएको प्रेसर कुकर बम गएराति ११ बजेर ४५ मिनेट जाँदा विष्फोट भएको थियो ।
विष्फोटबाट प्रहरी निरीक्षक अमितकुमार दाहाल, घरधनी ४५ वर्षीय राजेश साह र उनका अन्दाजी २५ वर्षीय छोरा आनन्द साहको मृत्यु भएको धनुषा प्रहरी प्रमुख, प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनु भयो । घरधनी शाहले घर अगाडीको पोलमा शंकास्पद वस्तु रहेको जानकारीका आधारमा प्रहरी घटनास्थल पुग्नासाथ बम विष्फोट भएको थियो ।

घरधनी शाह र उनका छोरा आनन्दको घटनास्थलमै र बायाँ कोखमा बमको छर्रा लागेका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा धरानमा मृत्यु भएको हाम्रा संवाददाता अजय झाले जनाएका छन् । बम विष्फोटबाट राजेश साहकी २३ वर्षीया छोरी अञ्जली साह, १५ वर्षका छोरा प्रकाश, र प्रहरी जवान वैद्यनाथ महतो घाइते भएका छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ । बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन ।
अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button