तपाईँ सुन्दै हुनुहुन्छः

धनुषाका सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्न स्थानीय तहका पदाधिकारी तयार

जनाकपुरधाम । धनुषाका स्थानीय तहका पदाधिकारीहरुले सामुदायिक विद्यालयको पठनपाठन तथा साक्षर नेपाल अभियान सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई धनुषाले जनकपुरधाममा विद्यालय एवं स्थानीय तहका पदाधिकारीको लागि आयोजना गरेको तीन दिने अभिमुखिकरण कार्यक्रमको समापन कार्यक्रममा सहभागी, पालिकाका प्रमुख, उपप्रमुख तथा अधिकारीहरुले आज उक्त प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

खास गरेर सामुदायिक विद्यालयहरुको पठन पाठन लगानी अनुसार नभएको भन्दै बिभिन्न क्षेत्रबाट आलोचना भईरहेको बेलामा पालिकाका पदाधिकारीहरुले सार्वजनिक विद्यालयको पठन पाठन सुधारका लागि जे गर्नु परेपनि गर्ने बताउनु भएको थियो ।

मिथिला नगरपालिकाका उपप्रमुख तारालामा बस्नेतले सामुदायिक विद्यालयको पठन पाठनमा सुधारका लागि आफ्नो नगरपालिकाले सबै प्रकारको उपायहरु अबलम्वन गर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश नंं २ का शिक्षा निर्देशक चुडामणि फ्युयालले संघीय शिक्षा ऐन अब चाँडै आएर शिक्षा क्षेत्रमा अहिले देखिएको अन्योलताको अन्त्य भएर शिक्षा क्षेत्रमा सुधार आउने बिश्वास व्यक्त गर्नुभयो ।

उहाँले संघ तथा प्रदेशका मन्त्रालयले दिएको कार्यादेश तथा निर्देशन अनुसार शिक्षाको कार्यक्रमहरु सञ्चालन गर्नका लागि पालिकाहरुलाई आग्रह गर्दै प्रदेश नंं २ मा पहिलो साक्षर जिल्लाको रुपमा धनुषालाई घोषणा गर्नका लागि पालिकाहरुको भरपुर सहयोग तथा साथको आवश्यकता रहेको बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख बरखुप्रसाद रजकले शिक्षा क्षेत्रको सुधारका लागि तीन दिने अभिमुखिकरण कार्यक्रम महत्वपूर्ण हुने आशा व्यक्त गर्दै साक्षर नेपालका लागि जिल्लाको १८ पालिकामा १४ लाखको दरले दुई करोड ५२ लाख बजेट निकाशा गरेको बताउनुभयो ।

तीन दिने अभिमुखिकरण कार्यक्रममा शिक्षा विभागका उपसचिव विमला मिश्र, विद्यालय निरीक्षक राजदेव यादव तथा विभिन्न पालिकाका प्रमुख, प्रशासकीय अधिकृतहरुले पनि बोल्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button