तपाईँ सुन्दै हुनुहुन्छः

९७ स्वर्णका साथ भारत पदक तालिकाको शीर्ष स्थानमा

काठमाडौं । नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत भारत ९७ स्वर्ण ल्याई पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

भारत हालसम्म ९७ स्वर्ण, ६८ रजत र ३४ कास्य पदक सहित प्रथम स्थानमा रहेको छ ।

नेपाल ४३ स्वर्ण, ३० रजत र ५८ कास्य पदक सहित दोस्रो स्थानमा छ । श्रीलङ्का २९ स्वर्ण, ५० रजत र ७८ कास्यसहित तेस्रो स्थानमा रहेको छ । पाकिस्तान २० स्वर्ण, २७ रजत र ३४ कास्यसहित चौथो स्थानमा छ ।

बङ्गलादेश ५ स्वर्ण, १९ रजत र ५३ कास्यसहित पाँचौँ स्थानमा कायमै छ । माल्दिभ्स १ स्वर्ण र २ कास्य जित्दै छैटौँ तथा भुटान ५ कास्यसहित पदक तालिकाको अन्तिममा रहेको छ ।

१३ औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई २ –१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा १८ औ मिनेटमा माल्दिभसका इब्राहिम महुदी हुसैनले गोल गर्दै अग्रता दिलाएका थिए ।

अभिशेक रिजालले नेपालका तर्फबाट ४३ औ मिनेटमा पहिलो गोल गर्दै खेल बराबरीमा पुर्याएपछी खेल रोमाञ्चक बन्यो ।

उनले पेनाल्टी क्षेत्रको ठीक बाहिर आएको बललाई नियन्त्रणमा लिँदै उत्कृष्ण प्रहार गर्दै गोल गरेका थिए । त्यसपछि खेलको ५२औँ मिनेटमा नेपालले विजयी गोल गर्यो ।

सुनिल बलको कर्नरमा अनन्त तामाङले हेड गोल गर्दै नेपाललाई २–१ को जीत दिलाए । शनिबार हजारौ दर्शकहरु दशरथरंगशाला पुगेर नेपाली फुटबल टिमलाई हौसला प्रदान गरेका थिए ।

यसैगरी साग अन्र्तगत महिला फुटबल प्रतियोगितामा नेपाल भारतसँग १ –० गोल अन्तरले पराजित भएको छ ।

शनिबार पोखरामा भएको खेलमा नेपालले हार बेहोरे पनि अंकतालिकाको दोस्रो स्थान सुरक्षित गरेकोले स्वर्ण पदकका लागि पुनः भारतकै सामना गर्ने भएको छ ।

जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालका किरणसिंह बोगटीले स्वर्ण पदक दिलाएका छन् ।

दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा पुरुषतर्फको ४२ किलोमिटर दौडमा २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पुरा गदैं बोगटीले स्वर्ण पदक दिलाएका हुन् ।

(साग) अन्तर्गत कुस्तीमा नेपालल स्वर्ण पदक जितेको छ ।

धनुषाका जनकपुरस्थित हबर्ड हलमा शनिबार भएको ५५ किलो तौल समूहमा नेपालकी संगीता धामीले बंगलादेशकी सखिरा सरकार रिनेलाई ४–१ अंकले पराजित गर्दै स्वर्ण हात पारेकी हुन ्।

साग टि–२० पुरुष क्रिकेट प्रतियोगिता अन्र्तगत शनिवार बंगलादेशसँग ४४ रनले पराजित भएसँगै नेपालको स्वर्ण पदक जित्ने सम्भावना सकिएको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले व्याटिङ् गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ५५ रन बनाएको थियो ।

१ सय ५६ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १ सय ११ रन मात्र बनाउन सक्यो ।

नेपालका ज्ञानेन्द्र मल्लले ४३, दिपेन्द्रसिंह ऐरी १६ र अविनाश बोहराले १३ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानको प्रर्दशन दोहोरो अंक नछुनेगरि निराशाजनक रह्यो ।

बंगलादेशको जित दिलाउने क्रममा कप्तान नजमुल हसन सान्टोले ७५ र अफिफ होसैनले ५२ रन बनाए । नेपालमा पारस खड्काले ३ र दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button