तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनमा ६५ दशमलब ४३ प्रतिशत मतदान, शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

काठमाडौँ । प्रतिनिधि सभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त ५२ पदका लागि आज भएको उप निर्वाचनमा ६५ दशमलब ४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

कतिपय स्थानमा मतगणनाको प्रक्रिया शुरु भएको र भोलिसम्म धेरैजसो स्थानमा मतगणना सकिने आयोगले अनुमान गरेको छ ।

निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सुरक्षा अवस्था निकै सुदृढ रहेकाकारण केही सामान्य छिटफुट घटनाबाहेक मतदाताको व्यापक सहभागीतामा उत्साह र शान्तिपूर्ण वातावरणमा मतदान भएको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले स्वच्छ, स्वतन्त्र र विश्वसनीय रुपमा उपनिर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनु हुने आममतदाता, उम्मेदवार, राजनीतिक दल, सञ्चारकर्मी, पर्यवेक्षण संस्थालगायत सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

मतदान भइरहेको अवस्थामा कास्की, दाङ, सर्लाही, डोटी लगायत जिल्लामा मतदान केन्द्र नजिक सामान्य विष्फोटका छिटपुट घटना भएता पनि यसबाट मतदानमा कुनै नकारात्मक प्रभाव नपरेको आयोगले जनाएको छ ।

यस उपनिर्वाचनमा चार लाख ५४ हजार एक सय १४ जना मतदाता रहेकोमा दुई लाख ९७ हजार एक सय ३७ जनाले मतदान गरेका छन ।

प्रतिनिधि सभा सदस्यको निर्वाचन भएको कास्की जिल्ला निर्वाचन क्षेत्र नं. २ मा ६५ प्रतिशत, प्रदेश सभा सदस्यको निर्वाचन भएका भक्तपुरमा ७० प्रतिशत, बागलुङमा ६१ प्रतिशत र दाङमा ६७ प्रतिशत मतदान भएको छ ।

यसैगरी स्थानीय तहका सदस्यतर्पm धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिकामा ६६, मकालु गाउँपालिकामा ६५ र पिपरा गाउँपालिकाको अध्यक्षका लागि भएको मतदानमा ६० प्रतिशत र खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान भएको छ ।

उपनिर्वाचनमा सबैभन्दा धेरै रौतहट र हुम्लामा तथा सबैभन्दा कम रोल्पाको थवाङमा १६.४ प्रतिशत मतदान भएको छ ।

मुलुकका ३७ जिल्लाका दुई सय ४७ मतदान स्थल र पाँच सय ३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।

काठमाडौस्थित जापन, युरोपियन यूनियन, अमेरिका र अष्ट्रेलीयाका राजदूत एवं प्रतिनिधि विभिन्न मतदान केन्द्रमा पुगेर उपनिर्वाचनको अनुगमन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button