तपाईँ सुन्दै हुनुहुन्छः

अहिलेसम्म ६३ प्रतिशत मतदान

काठमाडौं। बिहान ७ देखि सुरु भएको प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदमा उपनिर्वाचनका लागि मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा भइरहेको छ ।

निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारीका अनुसार अपरान्ह तीन बजेसम्म ६३ प्रतिशत मतदान भएको छ । आयोगले मतदान र मतगणना सम्बन्धमा थप जानकारी लागि साँझ ६:१५ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएको छ । निर्वाचन आयोगका सचिव देवकुमारी गुरागाईले उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा मतदान कार्य जारी रहेको जानकारीे दिनुभयो ।

प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदमा उपनिर्वाचनका लागि शनिबार मतदान हुँदैछ । गण्डकी प्रदेशको कास्कीको क्षेत्र नम्बर २ बाट निर्वाचित रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उहाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत हुनुहुन्थ्यो । प्रदेश सभाका सदस्यत्रय प्रदेश ३ का भक्तपुरका हरिशरण लामिछाने, गण्डकी प्रदेश वाग्लुङका टेकबहादुर घर्ती र प्रदेश ५ दाङका उत्तरकुमार वलीको मृत्यु भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदैछ ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरका प्रमुख तारा सुब्बा, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङ, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल, महोत्तरी जिल्लाको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरी र हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन भएपछि उपनिर्वाचन हुँदैछ । विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाअध्यक्ष पदका लागि पनि मतदान हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button