तपाईँ सुन्दै हुनुहुन्छः

‘१६ दिने अभियान शहर केन्द्रित भए’

वीरेन्द्रनगर। कर्णालीका प्रदेशसभा सदस्यले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम शहरमा मात्र केन्द्रित भएको बताएका छन् ।

सामाजिक विकास मन्त्रालयले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रदेशसभाका सदस्यले यस्तो बताएका हुन् ।

सो अवसरमा कर्णाली प्रदेशसभाका उपसभामुख पुष्पा घर्तीले प्रदेशमा हुने कुनै पनि लैङ्गिक हिंसाविरुद्धको कदम चाल्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू प्रश्नभन्दा काम गर्ने ठाउँमा भएको उल्लेख गर्दै उहाँले प्रदेशमा हुने हरेक खाले लैङ्गिक हिंसा अन्त्यका लागि प्रदेशसभा जस्तोसुकै कानून निर्माण गर्न तयार भएको बताउनुभयो ।

प्रदेशसभा सदस्य पद्ममा खड्काले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम हिंसा पीडितकहाँ पुग्न नसकेको बताउनुभयो । यस्ता सचेतनामूलक कार्यक्रम प्रदेशका राजधानीमा मात्र केन्द्रित गरिएको भन्दै यसलाई गाउँ गाउँमा विस्तार गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । “वास्तविक हिंसापीडित त गाउँमा छन्”, उहाँले भन्नुभयो, “सरकार र सामाजिक संस्था गाउँका दूरदराजमा केन्द्रित हुनुपर्छ ।”

अर्का प्रदेशसभा सदस्य रातो कामीले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रमलाई १६ दिनमा मात्रै सीमित गराउन नहुने बताउँदै कर्णाली प्रदेशका दुर्गम गाउँमा छोरा र छोरीबीच हुने विभेद, छाउपडी प्रथा, छुवाछूतजस्ता सामाजिक विकृतिले ठूलो हिंसा निम्त्याएको छ भन्नुभयो । यस्ता सामाजिक हिंसालाई न्यूनीकरण गर्न सम्बन्धित क्षेत्रमै गएर यस्ता कार्यक्रम केन्द्रित गर्न उहाँले सुझाव दिनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव डा मानबहादुर विकेले घरेलु हिंसा निवारण ऐनको मस्यौदा तयार भएर प्रदेशसभामा दर्ता भइसकेको उल्लेख गर्दै हिंसापीडित व्यक्तिका लागि मन्त्रालयले प्रदेशका छ वटा स्थानमा आश्रयस्थल बनाएको जानकारी दिनुभयो ।

वाम संस्था सुर्खेतका कार्यकारी निर्देशक मधुुरानी ढकाल, आवाज संस्था सुर्खेतका कार्यक्रम संयोजक पवित्रा शाहीलगायतका अधिकारकर्मीले संविधानले सुनिश्चित गरेको लैङ्गिक हिंसाको अन्त गर्न सबै पक्ष एकाकार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button