तपाईँ सुन्दै हुनुहुन्छः

जाडो बढेसँगै राडीपाखीको कारोवार बढ्यो

रुकुमपूर्व। जाडो बढेसँगै रुकुमपूर्वमा राडीपाखीको व्यापार बढेको छ । चिसो शुरु हुन थालेसँगै जिल्लामा उत्पादित राडीपाखीको व्यापार बढ्दै गएको हो ।

Image result for जाडो बढेसँगै राडीपाखीको कारोवार बढ्यो

भेडाको ऊन, अल्लो, केतुके, केरालगायत रेसाबाट निकालिने धागोबाट न्यानो कपडा तयार पारिएको हो । स्थानीय कच्चा पदार्थबाट बुनिने राडीपाखी, स्वीटर, गलबन्दी, ज्याकेट, रुमाल, कम्बल, टोपीलगायत वस्तुको कारोवार बढेको स्थानीय व्यापारीले बताएका छन् । जिल्लामा वर्षेनी असोज पहिलो सातादेखि फागुन अन्तिम सातासम्म राडीपाखीको कारोवार बढ्ने गर्छ । पुथाउत्तरगङ्गा र भुमे गाउँपालिकामा प्रशस्त मात्रामा भेडापालन गरिने भएकाले भेडाको ऊनबाट विभिन्न प्रकारका न्यानो कपडा तयार पारिन्छ ।

एउटा राडीपाखीको मूल्य रु एक हजार ५०० देखि रु पाँच हजारसम्म पर्ने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–५ की सूर्यकुमारी पुनले बताउनुभयो । राडीपाखी न्यानो हुने भएकाले जाडोको समयमा यसको अत्यधिक बिक्रीवितरण हुन्छ । “उत्पादन गरेको कपडाले राम्रै बजार पाएको छ”, उहाँले भन्नुभयो । भेडाको ऊन तथा अल्लोबाट बनेका कपडाको माग बढ्दै गएपनि मागअनुसारको कपडा उत्पादन गर्न नसकेको उहाँको भनाइ छ । जिल्लाको तकसेरा, कोल राङ्सी, सिस्ने, हुकाम, मैकोट, जाङ, काँक्रीलगायतका महिला राडीपाखीको बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । भुमे गाउँपालिका–८ की भोगीलाख विक प्रत्येक वर्ष आफैँले तयार पारेका राडीपाखी बिक्रीबाट रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउनुहुन्छ । “कपडा किन्न व्यापारी घरमै आउने गरेका छन्”, उहाँले भन्नुभयो । रुकुमपूर्वमा उत्पादित राडीपाखी न्यानो, बलियो र गुणस्तरीय हुने भएकाले जिल्लाका विभिन्न ठाउँका साथै पोखरा, काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत शहरमा यसको माग बढ्दो छ । जिल्लामा आउने पाहुनालाई राडीपाखी उपहार दिने प्रचलनसमेत छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button