तपाईँ सुन्दै हुनुहुन्छः

एकै दिन प्रतिस्पर्धी तीन दलको भव्य चुनावीसभा


भक्तपुर । यही मङ्सिर १४ गतेको उपनिर्वाचनको प्रचारप्रसार गर्दै मत माग्न राजनीतिक दलहरुद्वारा आयोजना गरिएका ¥याली तथा घरदैलो कार्यक्रम आजदेखि सकिएको छ । नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टीले घरदैलो र प्रचारप्रसार सकिएको जनाएको छ ।

नेकपा अध्यक्ष बचन देउजाले आज नगरकोटमा घरदैलो र पार्टी प्रवेश कार्यक्रम भएको जानकारी दिँदै आजदेखि घरदैलो सकिएको र भोलि भव्य चुनावीसभा रहेको जानकारी दिनुभयो ।

यता नेपाली काँग्रेसले पनि आज सुडालमा आयोजना गरेको घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं सांसद बद्री पाण्डे, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, राप्रपा संयुक्तका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहसहितको घरदैलो सम्पन्न भएको र भोलि चुनावीसभा रहेको काँग्रेस जिल्ला सचिव निशान ढुङ्गेलले जानकारी दिनुभयो । नेमकिपाले पनि आजसम्म आयोजना गरेको घरदैलो र प्रचार सम्पन्न गरेको र भोलि चुनावीसभाको आयोजना गरेको जनाएको छ ।

नेकपा भक्तपुरको आयोजनामा चाँगुनारायण नगरपालिका–४, नारायणटारमा भोलि ११ गते दिउँसो २ बजे हुने अन्तिम चुनावीसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्वसभामुख सुवास नेम्बाङले विशेष मन्तव्य राख्नुहुने बताइएको भएको छ । नेकपा भक्तपुरका तर्फबाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि देवीप्रसाद ढकाल (डिपी)लाई विजयी गराउन ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा, ‘समुन्नत भक्तपुर निर्माणको हाम्रो अभिभार’ भन्ने मुख्य नाराका साथ चुनावीसभा हुने भएको छ ।

त्यस्तै नेपाली काँग्रेसले भोलि ११ गते दिउँसो १ बजे यातु महादेवसँगैको हेलमेट डाँडामा अन्तिम चुनावीसभाको आयोजना गरेको पार्टी सचिव ढुङ्गेलले जानकारी दिनुभयो । सभामा काँग्रेसका नेता डा प्रकाशशरण महतलगायत शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

यता नेमकिपाले पनि दिउँसो ३ बजे कमलविनायक भत्केको पाटीमा अन्तिम चुनावीसभा गर्ने भएको छ । उक्त चुनावीसभामा पार्टी अध्यक्ष नारायणमान बिजुक्छे, सचिव प्रेम सुवाल, प्रदेश सांसदहरुलगायतले मन्तव्य राख्ने कार्यक्रम तय भएको नेमकिपाले जनाएको छ । तीनवटै दलले आफ्नो शक्ति प्रदर्शन गर्न गाउँगाउँबाट ¥यालीसहित आएर सभा गर्ने र शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
–रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button