तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–चीन गैह्र सरकारी सहयोग मञ्चको तयारी बैठक सम्पन्न

नेपाल–चीन गैह्र सरकारी सहयोग मञ्चको तयारी बैठक मंगलबार काठमाडौमा सम्पन्न भएको छ ।

बैठकमा मञ्चका माध्यममार्फत धेरै क्षेत्रमा सहकार्य गर्न सम्भव भएको विश्लेषण गर्दै आगामी दिनमा मञ्चका माध्यमबाट नेपालमा चिनियाँँ लगानी, प्रविधि, सीप र चिनियाँँ विकास मोडल आकर्षित गर्न सहकार्यलाई अझ बढी घनीभुत ढंगले अगाडी बढाउनु पर्नेमा दुवै पक्षबाट जोड दिइएको छ ।

बैठकमा चीनको सिचुवान प्रदेशको प्रनिधिमिण्डलका तर्फबाट नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै अहिले पनि सिचुवानबाट नेपालको पर्यटन, कृषि, उर्जा, पूर्वाधार विकासमा सबैभन्दा बढी लगानी आइरहेको र नेपालमा लगानीका अवसर तथा प्रक्रियाका विषयमा चिनियाँ लगानीकर्ताहरू समक्ष पर्याप्त जानकारी पुग्न सकेमा अझै बढी लगानी आउने धारणा समेत राखिएको थियो ।

बैठकमा मञ्चको १५ औं बैठक आगामी सन् २०२० को सेप्टेम्बर अन्तिम साता पश्चिम चीन अन्तराष्ट्रिय व्यापार मेलाको अवसर पारेर सिचुवानमा गर्ने सहमति भएको छ ।

मञ्चको आगामी बैठकमा चीनले अगाडी सारेको एक क्षेत्र एक सडक (वान बेल्ट वान रोड) अन्तरगत पर्यटन, कृषि, उर्जा, पूर्वाधार निर्माण, मानव संशाधन विकास सहित अन्य महत्वपूर्ण क्षेत्रमा सहयोग सहकार्यमा छलफल हुने समेत बैठकले तय गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा सम्पन्न बैठकमा नेपाल पक्षको नेतृत्व मञ्चका सह–अध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले र चिनियाँ पक्षको नेतृत्व अखिल चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं सिचुवान प्रान्तिय उद्योग वाणिज्य महासंघका अध्यक्ष छन् फाबले गर्नुभएको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ ।

चिनियाँ व्यापारिक प्रतिनिधि मण्डलका सदस्यहरुले नेपालको निजी क्षेत्रका व्यवसायीसँग र काठमाडौमा जारी नेपाल चिन तिब्बत व्यापार मेलामा पनि सहभागिता जनाउनुका साथै नेपालमा लगानीका विभिन्न क्षेत्रको बारेमा पनि छलफल गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button