तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा संवाद सचिवालय स्थापना   

काठमाडौँ – राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक एवं साझा चासोका विषयमा नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले सगरमाथा संवाद सचिवालय स्थापना गरिएको छ ।

नारायणहिटी दरबारको पश्चिम ढोकास्थित राहदानी विभाग परिसरमा स्थापना भएको उक्त सचिवालयको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज उद्घाटन गर्नुभयो । सचिवालयको जिम्मेवारी परराष्ट्र मन्त्रालयको नीति, योजना महाशाखाका प्रमुख कुमारराज खरेलले सम्पादन गर्नेगरी तोकिएको छ ।

विकास साझेदारसँग परामर्श    
यसैबीच परराष्ट्रमन्त्री ज्ञवालीले आजै सगरमाथा संवादको सफल एवं सार्थक आयोजना गर्ने सन्दर्भमा नेपालको विकासका साझेदारहरुसँग विचारविमर्श गर्नुभएको छ ।

मन्त्री ज्ञवालीसहित वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री युवराज खतिवडा उपस्थित बैठकमा काठमाडौँस्थित कूटनीतिक नियोगहरु, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्घ–सङ्गठनहरुसँग गहन छलफल भएको थियो ।

मन्त्री ज्ञवाली सगरमाथा संवाद निर्देशक तथा आयोजक समितिका संयोजक हुनुहुन्छ भने मन्त्रीद्वय बस्नेत र खतिवडा सदस्य हुनुहुन्छ । बैठकमा सहभागी नेपालको विकास साझेदार तथा कूटनीतिक नियोगका प्रमुख एवं पदाधिकारीले जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयमा पहिलोपटक आयोजना हुन लागेको सगरमाथा संवादलाई सफल तुल्याउन आआफ्नातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button