तपाईँ सुन्दै हुनुहुन्छः

कारागारमा नै लगाए कैदीबन्दीले भाइटीका

बनेपा। विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका जिल्ला कारागारमा रहेका ८३ जना कैदीबन्दीले कारागारभित्र तिहारको भाइटीका लगाएका छन् ।

जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा रहेका कैदीबन्दीमध्ये ८३ जनाले आफ्ना दिदीबहिनीहरुको हातबाट भाइटीका लगाइसकेको जिल्ला कारागार व्यवस्थापन शाखाले जनाएको छ । टीका राख्नका लागि बेलुकासम्म समय मिलाइदिएको शाखाले जनाएको छ ।

हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारलाई देश विदेशमा रहनु भएकाहरुले धुमधामसँग मनाइरहेका बेला यहाँका जिल्ला कारागारमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेकाहरुले पनि आफ्नो दिदीबहिनीहरुको हातबाट भाइटीका लगाएर तिहार मनाएका हुन् ।

टीका राख्नका लागि कारागार व्यवस्थापन शाखाले आवश्यक ठाउँको व्यवस्था मिलाउनुको साथै पालोलाई पनि व्यवस्थित गरिदिएको जेलर जङ्गबहादुर राईले बताउनुभयो । टाढाटाढाबाट दिदीबहिनीहरु आएर टीका लगाएको कारागार व्यवस्थापन शाखाले जनाएको छ ।

जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २४० जना विभिन्न मुद्दामा कैद भुक्तान गर्ने कैदीबन्दीहरु रहेका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button