तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको आ क्रमण बढेपछि नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

तनहुँ। तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आ क्रमण बढेपछि नेपाली काङ्ग्रेसका निर्वाचित जनप्रतिनिधिले यसको नियन्त्रणमा गम्भीर बन्न प्रशासनलाई ध्यानाकर्षण गराउनुभएको छ ।

चितुवाको आक्रमणबाट नगरपालिकाका विभिन्न वडामा पाँच जना बालबालिकाको मृत्यु भइसकेकाले जतिसक्दो चाँडो चितुवा नियन्त्रणमा लिएर स्थानीयवासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै राष्ट्रियसभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, नगरपालिकाका प्रमुखलगायत काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको ध्यानाकर्षण गराउनुभएको हो ।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले मानिसको जीवन मूल्यसँग तुलना गर्न नमिल्ने भएकाले स्थानीयवासीको जीउज्यानको सुरक्षा गर्न चितुवा नियन्त्रणका लागि गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो ।

चितुवाले दिनप्रतिदिन बालबालिकामाथि आक्रमण गरे पनि चितुवा नियन्त्रणमा लिन नसक्दा भानुमा सरकारको उपस्थिति नरहेको स्थानीय जनताले अनुभूति गर्न थालेको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताउनुभयो । “भानु नगरपालिकामा स्थानीयवासी अत्यन्तै त्रसित छन्”, वाग्लेले भन्नुभयो, “चितुवा नियन्त्रणका लागि प्रशासन गम्भीर बन्नुपर्ने देखिएको छ ।”

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सबैको सहयोगबाट नरभक्षी चितुवा नियन्त्रणमा लिइने बताउँदै जिल्ला सुरक्षा समितिको बैठकले चितुवालाई गोली हानेर मार्ने आदेश दिइसकेको जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले भानु नगरपालिकाका बस्ती जङ्गलसँग जोडिएको रहेकाले जोखिम बढेको बताउँदै घर नजिकै रहेका झाडी फँडानी गर्न सकिए चितुवाको आक्रमणबाट बच्न सकिने बताउनुभयो । प्रमुख बरालले चितुवा नियन्त्रणका लागि पहल भइरहेको पनि जानकारी दिनुभयो ।

“जङ्गलमा पाइने चितुवाको आहारा नष्ट हुनेक्रम बढेसँगै चितुवा बस्ती नजिक आउने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “आहारा खोज्दै चितुवा बस्ती नजिक आएपछि मान्छेलाई आक्रमण गरेर ज्यान लिने गरेको छ ।”

गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक र सरिता गुरुङ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख उदयराज गौली लगायतले चितुवा नियन्त्रणमा लिएर स्थानीयवासीलाई ढुक्कसँग बस्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मृत्यु हुने बालबालिकाको सङ्ख्या पाँच पुगेको छ । विसं २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी र असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

यसरी चितुवाको आक्रमणबाट मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप रु १०÷१० लाख उपलब्ध गराइसकिएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button