तपाईँ सुन्दै हुनुहुन्छः

बढी भाडा लिएको आरोपमा मुद्दा दायर

खोटाङ । यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ । तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरी सोमबार मुद्दा दायर गरिएको हो ।

खोटाङबाट काठमाडौँ जाने यात्रुबाट जनही रु एक हजार ४५० लिनुपर्नेमा रु दुई हजार लिएको गुनासो आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । यातायातमा कालोबजारी भएको गुनासो आए पनि उजुरी नपरेपछि प्रहरी आफैँ यात्रु भएर जाँदा कालोबजारी गरेको पुष्टि भएपछि उनीहरू पक्राउ परेका थिए ।
पक्राउ परेकाहरूविरुद्ध सोमबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्नाका साथै १० दिनको म्याद थप गरेर कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो । कालोबजारी आरोपमा एक वर्षसम्म कैद तथा रु १० लाखसम्म जरिवाना गर्न सकिने कानूनी प्रावधान छ ।

दशैँ–तिहारको बेलामा जिल्ला भित्रिने र बाहिरिने यात्रुबाट मनपरी भाडा लिएकाले जाँचका लागि ठाउँ–ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताउनुभयो । ऐँसेलुखर्क, बाक्सिलालगायत ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनले यात्रुबाट मनपरी भाडा लिइरहेको गुनासो आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button