तपाईँ सुन्दै हुनुहुन्छः

कपिलबस्तुको गोटीहवामा असोज पूर्णिमा उत्सव सम्पन्न

बुटवल – कपिलबस्तुको गोटीहवामा आइतबार असोज पूर्णिमा (फुलमुन ड ) उत्सव सम्पन्न भएको छ । प्रदेश नं ५ को उद्योग,पर्यटन,बन तथा वातावरण मन्त्रालयद्धारा गौतमबुद्धसँग सम्बन्धित ऐतिहासिक महत्वपूर्ण स्थलहरुमा हरेक महिनाको पूर्णिमामा पूर्णिमा उत्सव मनाउने क्रममा आइतबार कपिलबस्तु नगरपालिका वडा नं ५ गोटीहवामा पूर्णिमा उत्सव मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं ५ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश सरकारले अब गौतमबुद्धको जन्मस्थल लुम्बिनीका अलवा त्यससँग सम्बन्धित महत्वपूर्ण स्थलहरुको संरक्षण र संवद्र्धन गर्नुका साथै पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्दै लैजाने बताए ।

बिगतमा अरुले केही गरेनन् भनेर अग्रजहरुलाई दोष दिएर मात्रै नहुने भन्दै मन्त्री गिरीले अब सबै मिलेर बिकास निर्माणमा अगाडी बढ्नुपर्ने आवस्यकता औल्याए ।

हिजो चुनाव लड्दा जुनसुकै पार्टीबाट चुनाब लडे पनि चुनाव जितिसकेपछि जनप्रतिनिधि सबैको साझा हुने भन्दै उनले बिकास निर्माणमा पार्टी हेर्न नहुने बिचार व्यक्त गरे ।

प्रदेश नं ५ मा अपार सम्पदाहरु रहेको बताउदै मन्त्री गिरीले ति सम्पदाहरुको उचित संरक्षण, संवद्र्धन गरी प्रचार प्रसार गर्न सके प्रदेश मात्रै नभएर मुलुक समृद्ध बन्न सक्ने बताए ।

उनले प्रदेश सरकार बुद्ध जन्मस्थल लुम्बिनीसँगै तिलौराकोट, सैनामैना, देवदह, रामग्राम, पण्डितपूर लगायतका क्षेत्रहरुलाई समेटेर एकिकृत बिकास गर्ने योजनामा रहेको जानकारी गराए ।

कार्यक्रममा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयकी सचिव राधा वाग्लेले गौतमबुद्धलाई चिनाउन जरुरी नभएको भन्दै अब गौतमबुद्धको जन्मस्थल र त्यससँग सम्बन्धित महत्वपूर्ण क्षेत्रहरुको बिकास र प्रचार प्रसार गर्न सके मुलुक समृद्ध बन्न सक्ने बिचार व्यक्त गरिन् ।

उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयकी सचिव राधा वाग्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्यहरु धर्मबहादुरलाल श्रीवास्तव, सहसराम यादव, कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्य लगायतले कपिलबस्तु जिल्लामा गौतमबुद्धसँग सम्बन्धित धेरै महत्वपूर्ण स्थलहरु रहेको भन्दै त्यस्ता ठाउहरुको उचित संरक्षण, संवद्र्धन गर्दै पर्यटकीय स्थलको रुपमा बिकास गर्नुपर्नेमा जोड दिएका थिए ।

मन्त्रालयका अधिकृत टुकराज पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा भन्ते पिएरत्नले पञ्चशिल वाचन गरेका थिए भने आमा समूह तथा भजन मण्डलीले बुद्धसँग सम्बन्धित गित तथा भजन गायन भएको थियो ।

सो अवसरमा सो स्थानमा रहेको अशोक स्तम्भमा दिप प्रज्वलन समेत गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button