तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भ्रमण वर्ष सफल बनाउने भीमदत्तको अभियान, रौटेलामा राखियो १९ फिटको त्रिशुल

कञ्चनपुर –  धार्मिक पर्यटकीय स्थल कञ्चनपुरको रौटेलामा १९ फिट अग्लो त्रिशुल स्थापन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी भीमदत्त नगरपालिकाका सबै वडाको प्रतिनिधित्व हुने गरी बैजनाथ मन्दिर नजिक धार्मिक पर्यटकीय मार्गको प्रस्थान विन्दुमा त्रिशुल राखिएको हो । रौटेला धार्मिक पर्यटकीय स्थल भएकाेले सबै वडाको प्रतिनिधित्व हुने गरी त्रिशुल राखिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनु भयो ।

प्रचारका लागि रौटेलामा यस अघि होर्डिङ्ग बोर्ड लगाइएको थियो । धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि रौटेलादेखि ब्रह्मदेवसम्म धार्मिक पर्यटकीय मार्ग निर्माण गरिएको छ । रौटेला नजिक बाराकुण्डा क्षेत्रका सबै १२ कुण्ड पुनःभरण गरिएका छन् । बाराकुण्डामा पिकनिक स्पट निर्माण गरिएको छ । यसैगरी बाराकुण्डाबाट विष्णु मन्दिर धामसम्म पुग्ने पदमार्ग निर्माण गरिएको बताइएको छ । भारतमा अवस्थित पूर्णागिरी माताका दर्शनार्थीहरुलाई धार्मिक पर्यटकीय मार्ग भएर बाराकुण्डा पुगाउने लक्ष्य राखिएको छ । पूर्णागिरी माताका दर्शनार्थीहरु अनिवार्य रूपमा ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा पूजाआजाका लागि  आउने गरेका छन् ।
नेपाल सरकारले गत वर्ष भम्केनी धाम-रौटेला-ब्रह्मदेव क्षेत्रलाई समेत एक सय नयाँ पर्यटकीय गन्तव्य सूचीमा समावेश गरेको थियो । नगर प्रमुख विष्टले ती नयाँ गन्तव्यलाई मध्यनजर गरी प्रचार र पूर्वाधार निर्माण कार्य अघि बढाएको बताउनु भएको छ । त्यस्तै, भम्केनी धाममा निर्माण भइरहेको नेपाल आमाको मूर्तिका लागि भीमदत्त नगरपालिकाले एक करोड सहयोग गर्ने भएको छ ।
त्यस मध्ये चालु आर्थिक वर्षमा ५० लाख सहयोग प्रदान गरिने नगर प्रमुख विष्टले बताउनु भयो । पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालको राष्ट्रिय झण्डा गाड्ने कार्य पनि अघि बढेको छ भने झिलमिला तालसम्म पक्की सडक निर्माण गरिएको छ । झोलुङ्गे पुल किनारमा उद्यान निर्माण सुरु गरिएको छ । झोलुङ्ग पुल सौन्दर्यकरणीका लागि नेपाल पर्यटन बोर्डसित सहकार्य गरी सोलार जडान गरिएको बताइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि समेत झोलुङ्ग पुलदेखि बागफाँटासम्म निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्गको ट्रयाक खोलिएको नगर प्रमुख बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button