तपाईँ सुन्दै हुनुहुन्छः

दशैँ  भित्रिएसँगै पूर्वी तराईका आदिवासी समुदायमा पावनी जात्राको रौनकता 

झापा – दशैँ  भित्रिएसँगै पूर्वी तराईका आदिवासी समुदायले हर्षाेल्लासका साथ पावनी जात्रा मनाउने क्रम शुरु भएको छ । झापा, मोरङ्ग र सुनसरी जिल्लामा ठुलो संख्यामा बसोबास गर्ने कोच समुदायका राजवंशी, ताजपुरिया, गन्गाई, माझीलगायत समुदायले मनाउदै आएको जात्रा पावनी यसवर्ष पनि उल्लासका साथ मनाउने क्रम शुरु भएको छ ।

दशैंलाई उनीहरूले ‘जात्रा पावनी’का रूपमा रमाइलोसँग मान्दै आएको तथा दशैँभरी आफ्ना धार्मिक मठ–मन्दिरहरूमा पूजाअर्चना गरी मनाउने गरिआएको राजवंशी समाज विकास समितिका पूर्व केन्द्रीय सदस्य फुलवती राजवंशीले बताउनुभयो । उहाँका अनुसार विशेषगरी दशैंमा मन्दिरमा गई पुजाआजा गर्ने, भाकल अनुसार दुर्गा मन्दिरहरूमा बोका, हाँस, परेवा बलि दिने, नरिवल चढाउने, नयाँ लुगा किन्ने र लगाउने, मिठो मसिनो खाने र हप्ता दिनसम्म मेला भर्ने गरेको दृष्टान्तले जात्रा पावनीको रौनकले मनाउदै आएको छ ।

दुर्गामातालाई शक्तिको स्वरूप मानी र त्रिलोक विजय गरेका दैत्य राजा मैशासुरलाई बध गरि देवता, मानिसहरूको कल्याण अनि मुक्ति दिएको खुसीयालीमा पूजा गर्ने चलन रहिआएको उनिहरु वताउछन् । गैरकोच समुदाय र अन्य समुदायबीच यो पर्व सांस्कृतिक एकता र सहिष्णुताको सेतु बन्न पुगेको बताउदै झापा गौरीगञ्जकी अग्रज महिला नेतृ फुलवती राजवंशीले भन्नुभयो, ‘कोच समुदायले दशैं धुमधामसंग मनाउने गरेकाले यो पर्वले अरू समुदायसंग भावनात्मक सम्बन्ध जोडेको छ, मनाउने तरिका फरक छ तर श्रद्वा र आस्था एउटै छ ।’

जात्रा पावनीका क्रममा आज महानवमीको दिन आफ्नो नजिकको दुर्गा मन्दिरमा डालामा केराका काइयो चढाउने र मन्दिरबाट जमरा, टीका, प्रसाद लगेर ठुलाबडाबाट लगाउने चलन छ । ताजपुरिया समाज कल्याण परिषदका पूर्व केन्द्रीय अध्यक्ष नित्यानन्द ताजपुरियाका अनुसार जात्रा पावनीमा यस समुदायले घरमा प्रयोग हुने हातहतियार, ओखल, मुस्ली, कोदालो, हलो, खन्ति, बसेला, जङ्गाल धोईपखाली तिनीहरूको पूजा गर्ने चलन छ ।

यसरी पूजा गर्ने विधिलाई यस समुदायले ‘हाल गङ्गाली सेवा’ भनाई छ । उनिहरुले ‘हाल गङ्गाली सेवा’ गर्दा विहानै घर आगन लिपपोत गर्छन् । बिहानै सबै सामानहरू धोई पखाली घरको उत्तर दिशामा राख्ने चलन रहेको छ । नेपाल आदिवासी जनजाति महासंघका महासचिव समेत रहेका ताजुरियाले जात्रा पावनी पूर्वी क्षेत्रमा बसोबास गर्ने कोच समुदायको ठुलो पर्व भएको र यसलाई सांस्कृतिक पर्वका रुपमा मान्दैआएको बताउनुहुन्छ । ‘दशै साझा चाडका रुपमा सवै नेपालीले मानिआएको छौं’ महासचिव ताजपुरियाले भन्नुभयो, –‘यस चाडमा मनाउने प्राचिन सांस्कृतिक संस्कारजन्य चलन संरक्षण गर्न राज्यले समेत ध्यान दिन खाँचो देखिएको छ ।’

‘हाल गङ्गाली सेवा’ गर्ने मानिस (घरमुली) उपवास बस्छन् । अनि पाँच ठाउँमा केराको पत्तामा पानसुपारी, चिनी, भोग, धुप, केराको प्रसादी लगाई पूजा गर्नुका साथै गैरमाटी, खैरमाटी (रातो) र खैरो (माटोको डल्लो) घोलेर पाँच, पाँच वटा टीका पूजा गरेको सबै सामानहरूमा लगाउने चलन रहेको कोच समुदायका अगुवाहरु बताँउछन् । त्यसपछि प्रत्येक घरको ढोकाहरूमा पाँच पाँच वटा टीका लगाइन्छ । आरोग्यको लागि घरमा रोगव्याध प्रवेश गर्न नसकोस भनी दुवो र पैसा ढोकाहरूमा टासिने गरेको झापा, कमल गाँउपालिका ६ का आदिवासी अगुवा चन्द्रप्रसाद ताजपुरिया बताँउनुहुन्छ । दशैंमा जात्रा पावनीको विशेष संस्कार भएको र आदिमकालदेखि यी समुदायले सामूहिक रुपमा मानिआएको उहाँको भनाई छ ।

झापा, मोरङ्ग, सुनसरीलगायत भारतको विहार, र पश्चिम राज्यहरूमा बसोबास गर्ने कोच समुदायले दशमीको दिनदेखि पूर्णिमासम्म मेलापात जाने गर्छन् । जात्राले यस समुदायमा नयाँ कुटुम्बहरूको लागि विशेष महत्व राख्दछ । नयाँ कुटुम्बहरू दशैंमा एकआपसमा लुगा, लत्ताकपडा दिने र लिने गर्दछन् । छोरी ज्वाईहरू ससुरालीतिर गएर चाड मनाउने, मेला भर्ने चलन छ । तर, पर्वको नाममा फजुल खर्च गर्नु चाहीँ गर्न नहुने महिला नेतृ फुलवती राजवंशीले बताउनुहुन्छ ।

यस समुदायमा जसको घरमा दुर्गा मन्दिर छ, उनीहरू जमरा उमार्दैनन् । तर, नौ दिनसम्म चण्डी पाठ गर्ने गदैछन् । गाउँ गाउँमा पिङ टाङ्ने र त्यहाँ केटाकेटी, बालबच्चा, बुढाबुढी मानिसहरू हास्दैखेल्दै पिङ खेलेर आनन्द लिने चलन बढ्दै गएको छ । बर्षमा एक पटक पृथ्वी मातालाई आफ्नो बोझबाट मुक्त गर्न र एकचोटी जमिन छोड्नु पर्ने मान्यता अनुसार कोच समुदायमा पनि पिङ खेल्ने चलन रहेको छ ।

उनीहरू दुर्गा देवीसंगै काली, सरस्वतीको पनि पूजा गर्छन् । महानवमीको दिन लेख्ने, पढ्ने गरे ज्ञान र विधा बढ्छ भन्ने मान्यता अनुसार आफ्ना छोराछोरीहरूलाई नयाँ कापी र कलमले लेखाउने चलन छ । पावनी जात्रामा नाचगान गर्ने चलन पनि छ । विषेशतः राजवंशी ताजपुरिया समुदायका मानिसहरू यो समयमा ढुल्की नाच गरेर हिड्ने उनीहरु बताउछन् छ ।

पावनी जात्राको अवसरमा प्रत्येक घरमा गई सामुहिक रुपमा नाचगान गर्ने जात्रा को महत्व रहेको कोच समुदायका युवा पत्रकार आत्माराम राजवंशी बताँउनुहुन्छ । यस पर्वमा उनीहरु सामूहिक नाचगान गरेर संकलन भएको पैसा र जिन्सी समाजलाई फाईदा हुने साझा काममा लगाउने र पावनीको अवसरमा उनीहरू दुर्गा मन्दिर भएको स्थानमा बर्सेनी मेला लगाउने चलन समेत रहिआएको पात्रकार राजवंशी बताँउनुहुन्छ ।

पावनीको अवसरमा कोच समुदायको बाहुल्यता रहेको क्षेत्रहरु झापाको कमल गाँउपालिकाको जिम्दार चौंक, मंगलवारे, पाडाजुंगी, गौरादह नगरपालिकाको दुधाली, ग्वाँलडुब्बा, दामुना, गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी, भद्रपुर नगरपालिकाको चन्द्रगढीसहित मोरङ्गका विभिन्न स्थानमा बर्षाेदेखि सांस्कृतिक मेला लाग्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button