२०७८ साल साउन २० गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

अझै भट्टीमा सुकाइन्छ अलैँची

– किरण पौड्याल २०७६ असोज १५ गते ९:३५

इलाम । भारतलगायत तेस्रो मुलुकबाट गुणस्तरीय अलैँचीको माग बढे पनि नेपालबाट भने अझै गुणस्तरहीन अलैँची नै निकासी हुने गरेको छ । विशेषगरी अलैँची सुकाउन परम्परागत पद्धति नै अपनाउनाले पनि नेपालबाट कम गुणस्तरीय अलैँची नै विश्व बजारमा जाने गरेको छ ।

अलैँची सुकाउनका लागि सुधारिएका भट्टी आए पनि किसानले त्यसको प्रयोग नगर्नाले धुँवा र धुलोसहितको अलैँची निकासी गर्नुपर्ने बाध्यता छ । बढी लागत पर्नाले कतिपय किसानले आधुनिक भट्टी किन्न सकेका छैनन् । पछिल्लो समय आधुनिक भट्टीमा सुकाएको अलैँची कम गुणस्तरीय हुने र राम्रो नसुकेको आरोप लाग्नाले पनि आधुनिक भट्टी भित्रिन नसकेको कतिपय किसानको भनाइ छ ।

लामो समय भण्डारण गर्नुपर्ने बाध्यता रहेकाले राम्रो धुवामै सुकेको अलैँची व्यावसायीले खोज्नाले पनि आधुनिक भट्टी नभित्रिएको रोङ गाउँपालिकाका किसान गोविन्द पौडेल बताउनुहुन्छ । “विश्ववजारमा आधुनिक भट्टीकै अलैँचीको माग छ, तर, केही व्यवसायीले भने धुँवा भएको कालो वर्णको अलैँची नै चाहिन्छ भन्नाले पनि आधुनिक भट्टी नभित्रिएको हो”, उहाँले भन्नुभयो, “धेरै खर्च गरेर आधुनिक भट्टीमा सुकाउँदा पनि नबिक्ने सम्भावना छ, त्यसैले पनि हामीले आधुनिक भट्टी प्रयोग नगरेका हौँ ।”

आधुनिक भट्टीमा सुकाउनका लागि दक्ष जनशक्ति नभएका कारण कम गुणस्तरीय अलैँची उत्पादन भएकोे व्यावसायीको अनुमान छ । सरकारी तवरबाट तालीम र दक्ष शक्ति बढाउने कार्यक्रम नभएकाले पनि आधुनिक भट्टीको अलैँची कम गुणस्तरीय भएको हुनसक्ने अलैँची व्यवसायी महासङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष दीपक नेपालको बुझाइ छ ।

“अब हामीले परम्परागत भट्टीमा अलैँची सुकाएर विश्वबजारमा बिक्दैन, बजारमा माग नै सुधारिएको भट्टीको अलैँचीको छ”, नेपालले भन्नुभयो, “हामीसँग यसका लागि दक्ष जनशक्ति नभएकाले पनि कम गुणस्तरीय अलैँची उत्पादन हुँदै छ, यसमा सम्बन्धित पक्षले ध्यान पु¥याउनुपर्छ ।” भारतसँगै अन्य मुलुकसमेत सुधारिएको भट्टीमा गइसकेकाले नेपालले पनि यसका लागि प्रयत्न गर्नुपर्ने नेपालको भनाइ छ ।

व्यवसायी र किसानले गुणस्तर छुट्याउनुभन्दा विश्वबजार हेरेर काम गर्दा मात्र नेपालको अलैँचीले बजार पाउने उहाँले बताउनुभयो । “हामीले अबका दिनमा पनि विश्वबजारमा धुँवासहितको परम्परागत भट्टीको अलैँची पठाउनु हुँदैन, हामीले पनि अन्तरराष्ट्रिय गुणस्तरकै अलैँची पठाउनु पर्छ”, उहाँले भन्नुभयो, “विश्ववजारमा हाम्रो अलैँची बिक्न छाडेका दिन हामीले कहाँ लगेर बेच्ने रु त्यसका बारेमा पनि सोच्नु पर्छ ।”

किसान भट्टीसम्बन्धी जानकार नहुनाले पनि अलैँचीमा प्रविधि नभित्रिएको व्यवासायी तथा विज्ञ बताउँछन् । पछिल्लो समय अलैँची मासिने र रोग लाग्ने समस्याले पनि परम्परागत शैली अपनाउनुपरेको कृषि विज्ञ डा योगेन्द्रमान श्रेष्ठ बताउनुहुन्छ । “धुँवा भएको अलैँचीमा कीरा लाग्दैन भन्दै कतिपय व्यवसायी अलैँची किन्नुहुन्छ, तर विश्वबजार हेरेर यसको मापन गर्नु आवश्यक हुन्छ”, डा श्रेष्ठले भन्नुभयो, “सरकारले यसका लागि प्रयत्न गर्नुपर्ने देखिन्छ, व्यवसायीले आधुनिक भट्टीमा अलैँची सुक्न गाह्रो हुने बताउँदा पनि किसानले बाध्य भएर परम्परागत पद्धति अपनाएका हुन् ।”

व्यवसायीले धेरै किसिमका अलैँचीका मापदण्ड बनाएका कारण पनि अलैँचीमा आधुनिक भट्टीको प्रयोग हुन नसकेको देखिएको छ । कतिपय व्यवसायीले आधुनिक भट्टीकै अलैँची खोज्नु र कतिपयले परम्परागतको अलैँची गुणस्तरीय भन्नाले पनि आधुनिक भट्टी लागू नभएको पाइन्छ । परम्परागत भट्टीमा सुकाएको अलैँची विश्वबजारमा धेरै नबिक्ने हुनाले अलैँचीमा आधुनिक भट्टीकै प्रयोग गर्नु आवश्यक रहेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरे बताउनुहुन्छ ।

“युरोप, अमेरिकालगायतका राष्ट्रमा आधुनिक भट्टीको धुँवारहित अलैँची नै खोजिन्छ, थाइ मुलुकमा मात्रै हो परम्परागत भट्टीको अलैँची जाने”, उहाँले भन्नुभयो, “हामीले बारीबाट निकालेको केही महीनामै अलैँची विश्वबजार पुग्ने वातावरण मिलाएमा आधुनिक भट्टीको गुणस्तरीय अलैँची बेच्न सकिन्छ ।” घिमिरेका अनुसार किसान–व्यवसायीले ‘भाउ पर्खिने नाममा’ लामो समय भण्डारण गरिदिनाले पनि समयमा अलैँची विश्वबजारमा नपुग्दा कम गुणस्तरको हुने गरेको हो । रासस

सम्बन्धित