तपाईँ सुन्दै हुनुहुन्छः

२९औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा प्रधानमन्त्रीज्यूले दिनुभएको सन्देशको पूर्णपाठ

आदरणीय आमाबुवा तथा दाजुदिदीहरु ।
आज अक्टोबर १ अर्थात २९आंै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।

यस अवसरमा जीवनका उकाली–ओराली पार गर्दै, असीम ज्ञान, सीप र अनुभव संगाल्ने सम्पूर्ण ज्येष्ठ नागरिक नेपालीहरूप्रति हार्दिक वधाई तथा शुभकामना प्रकट गर्दछु । म तपाईंहरुको सु–स्वास्थ्य र खुसीयालीपूर्ण दीर्घजीवनको कामना गर्दछु ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टुबर १ लाई इन्टरन्यासनल डे अफ ओल्डर पर्सन्स अर्थात अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।

आज द जर्नी टू एज इक्वालिटी अर्थात उमेरकै कारण गरिने विभेद–अन्त्यको यात्रा भन्ने नाराका साथ संसारभरि नै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यतापूर्वक मनाइँदैछ ।

नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ज्येष्ठ नागरिकको हक, हित संरक्षण एवं सम्बद्र्धनका लागि छाता संगठनका रूपमा कार्यरत राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ लगायत विभिन्न संघ–संस्थाहरुले यस दिवसका अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै छन् ।

मानव जीवनमा ज्ञानका स्रोतहरु मध्ये सवैभन्दा उत्कृष्ठ स्रोत अनुभव हो । यसको पाठ्य सामग्री र पाठःशाला जीवन हो । पुस्तकबाट प्राप्त ज्ञान भन्दा कयौं गुणा उपयोगी यस्तो प्रायोगिक ज्ञानलाई हामी प्रज्ञा भन्छौं । ज्येष्ठ नागरिकहरुबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्नु पर्दछ भन्ने सरकारको मान्यता छ । यसका लागि सरकारले ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सिर्जना गर्दैछ । ज्येष्ठ नागरिकहरुको मार्गदर्शनमा परिवार र समाजले सही दिशाको पहिचान अनि असल सँस्कृतिको प्रवद्र्धन गर्न सक्दछ ।

व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसंख्या तीब्र गतिमा बढ्दैछ । अहिले हाम्रो देशमा करिव ३० लाख ज्येष्ठ नागरिक हुनुहुन्छ । आफ्नो ऊर्जाशील समय कुनै न कुनै रुपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा वर्तमान सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ता लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।
नेपालका प्रत्येक ज्येष्ठ नागरिकको जीविका र रहन सहन मानवोचित स्तरमा सुनिश्चित गर्न सरकारले कानुन मार्फत नै ठोस व्यवस्थाहरु गर्ने नीति लिएको छ ।

यसबीच वर्तमान सरकारले अघि सारेको हरेक अस्पतालमा जेरियार्टिक वार्ड अर्थात ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने नीतिको कार्यान्वयन केही अस्पतालहरुबाट सुरु भइसकेको छ ।

नेपालमा पहिलो पटक स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको कम्युनिष्ट पार्टीको एकल सरकारले मासिक १०० रुपैयाँबाट ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको थियो । जनवोलीमा वृद्ध भत्ता भन्ने गरिएको उक्त भत्ताको राशी २०७६ साउनदेखि ३ हजार रुपैयाँ पु¥याइएको छ । वर्तमान सरकारले आफ्नो पाँच वर्षे कार्यकालभित्रै त्यसलाई ५ हजार पु¥याउनेछ ।

२०७६ सालको प्रारम्भसँगै वर्तमान सरकारले ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई योगदान रकम सरकारले नै वेहोर्ने गरी निःशुल्क स्वास्थ्य बीमामा आवद्ध गर्ने नीति कार्यन्वायन गर्न थालिसकेको यहाँहरुलाई विदितै छ । यतिखेर झण्डै अढाई लाख ज्येष्ठ नागरिक वार्षिक रुपमा रु. १ लाख रुपैयाँ बराबरको तोकिएका सुविधा–सेवाहरु विभिन्न स्वास्थ्य संस्थाहरुबाट प्राप्त गरिरहनु भएको छ । चालू आर्थिक वर्षभित्र ७७ वटै जिल्लाका ज्येष्ठ नागरिकहरुलाई यस योजनामा आवद्ध गरिनेछ ।

सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने सरकारको योजना कार्यान्वयनको चरणमा रहेको छ ।

स्रोत र साधन अपर्याप्त हुँदाहुँदै पनि ज्येष्ठ नागरिकका लागि सरकारले सामाजिक तथा स्वास्थ्य सुरक्षाको व्यवस्था मात्र गरेको छैन । यो सरकार यातायात सेवामा पनि ज्येष्ठ नागरिकका लागि सिट आरक्षण र भाडा छुट जस्ता सुविधाको व्यवस्था गर्न समेत प्रयत्नशील छ ।

यस अवसरमा म, हाम्रो सामाजिक–साँस्कृतिक परम्पराअनुरुप परापूर्व कालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर र कदर गर्ने संस्कारलाई अक्षुण्ण राख्न सबै नेपालीहरुप्रति विशेष आग्रह गर्दछु । साथै, हाम्रो समाजका अनुभव र सीपका धरोहर सम्पूर्ण आमाबुबा र दिदीदाजुहरुलाई एकपटक फेरि हार्दिक नमन गर्न चाहन्छु ।
अक्टुबर १, २०१९ केपी शर्मा ओली

प्रतिक्रिया राख्नुहोस्

Back to top button