तपाईँ सुन्दै हुनुहुन्छः

स्थिर शासनको जग बसाउन कांग्रेस-एमाले एक ठाउँमा आएका हुन्:  मन्त्री पाण्डे

नेपालगन्ज। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताउनुभएको छ । होटेल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनको आज नेपालगन्जमा उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले स्थिर शासनको जग बसाउन आगामी निर्वाचनसम्म कांग्रेस-एमाले एक ठाउँमा रहने बताउनुभयो । सुशासन र आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध भएर लाग्ने मन्त्री पाण्डेको भनाई छ ।

मन्त्री पाण्डेले होटल व्यवसाय पर्यटन क्षेत्रको पूरक क्षेत्र भएको बताउनुभयो । उहाँले होटल व्यावसायिक क्षेत्र भएकाले व्यवसाय प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन भूमिका खेलिरहेको बताउनुभयो । रोजगारी सिर्जनामा पनि होटल व्यवसायको अहम् भूमिका रहेको उहाँको भनाई छ । मन्त्री पाण्डेले पर्यटन नीतिलाई समयसापेक्ष बनाउन आफू आउने बित्तिकै तीन महिनामा प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको जानकारी दिनुभयो । उहाँले पर्यटन ऐन निर्माणको काम पनि यथाशीघ्र गर्ने बताउनुभयो । होटल चलेमा पर्यटक आवागमन बढ्ने भएकाले होटेलमैत्री नीति बनाएर अघि बढ्ने मन्त्रीको भनाई छ ।

लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवम् लुम्बिनी प्रदेश सांसद रत्न बहादुर खत्रीले अर्थतन्त्रलाई चलायमान गराउन पर्यटन क्षेत्रलाई राज्यले विशेष प्राथमिकताका साथ हेर्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न विशेष नीति बनाउनुपर्नेमा जोड दिनुभयो । राज्यले होटल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष भास्कर काफ्लेले राज्यले पर्यटन प्रवर्द्धनको महत्वपूर्ण अङ्ग होटल व्यवसायलाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिनुभयो । होटल व्यवसायमा ठूलो लगानी रहेको भन्दै काफ्लेले राज्यले आफ्ना माग सम्बोधनमा गम्भीरता देखाउनुपर्ने बताउनुभयो । उहाँले होटेल व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महासङ्घका केन्द्रिय अध्यक्ष दिनेश चुके, पूर्व केन्द्रिय अध्यक्ष अमृत बहादुर भुजेल, लुम्बिनी प्रदेश सल्लाहकार बलराम भट्टराई, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष रङ्ग बहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव दधिराम भण्डारी तथा स्वागत मन्तव्य उपाध्यक्ष महेन्द्र श्रेष्ठले गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button