तपाईँ सुन्दै हुनुहुन्छः

बीउ प्रशोधन गृह सञ्चालन

लमही-रुकुमेली एग्रो सीड सेन्टरले तुलसीपुर–६ राजापुरमा बीउ प्रशोधन गृह स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त प्रशोधन गृहको उद्घाटन किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका कार्यक्रम प्रबन्धक कौशलकुमार पौडेलले आइतबार गर्नुभयो ।

गुणस्तरीय बीउ उत्पादन प्रशोधन गरी किसानलाई जिल्लामै गुणस्तरीय बीउ उत्पादन गरी बजारीकरण गर्ने उद्देश्यले बीउ प्रशोधन गृह सञ्चालन गरेको रुकुमेली एग्रो सीडका अध्यक्ष निर्मलकुमार आचार्यले जानकारी दिनुभयो ।

नेपाल सरकार कृषि विकास मन्त्रालय किसानका लागि उन्नत बीउबिजन कार्यक्रम तरकारी बीउ प्रशोधन तथा बजारीकरण उपआयोजनाको ५० प्रतिशत सहयोग र संस्थाको ५० प्रतिशत लगानीमा बीउ प्रशोधन गृह सञ्चालनमा आएको हो । रु तीन करोड लागतमा सो आयोजना सञ्चालनमा ल्याएको बताइएको छ ।

सञ्चालक माधव केसीले विभिन्न ठाउँमा छरिएर रहेका एग्रोभेट व्यवसायीलाई समेटी २०६९ सालदेखि रुकुमेली एग्रोसिड सेन्टर सञ्चालन गर्दै आएको र गुणस्तरीय बीउ, उत्पादन प्रशोधन, प्याकेजिङ तथा बजारीकरण गर्दे गुणस्तरीय बीउ स्रोत केन्द्रको रुपमा विकास गर्दै अघि बढेको बताउनुभयो ।

हालसम्म सेन्टरले रुकुम, सल्यान, रोल्पा, दाङ जिल्लामा रहेका कृषक समूह, सहकारीले उत्पादन गरेका खाद्यान्न तथा तरकारीको बीउ खरीद गरी दाङ ल्याउने र प्रशोधन केन्द्रबाट बजारीकरण गर्ने बताएको छ ।

कार्यक्रममा नेपाल सरकार कृषि विकास मन्त्रालय किसानका लागि उन्नत बीउबिजन कार्यक्रमका प्रबन्धक पौडेलले बीउ जैविक चिज भएको भन्दै, यसलाई संरक्षण गरेर उत्पादनमा ल्याउनुपर्ने बताउनुभयो । प्रशोधन केन्द्रबाट किसानलाई गुणस्तरीय बीउ दिनसके स्थानीयस्तरबाटै उत्पादनलाई बढाउन सकिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button