तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडामा युवा सम्बन्धि कार्यक्रमका बारेमा अभिमुखीकरण

मकवानपुर – युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय युवा परिषदद्वारा प्रदेश र स्थानीय तहमा सञ्चालित युवा सम्बन्धि शसर्त अनुदानका कार्यक्रमहरुको बारेमा जानकारी गराइएको छ ।

राष्ट्रिय युवा परिषद्ले आज हेटौंडामा कार्यक्रमको आयोजना गरी प्रदेश ३ का १३ जिल्लाका युवा समिति अध्यक्ष र स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखहरुलाई युवा सम्बन्धि शसर्त अनुदानका कार्यक्रमहरुको बारेमा जानकारी गराएको हो ।

जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी मेयर शाक्यले राजनितिक परिवर्तनका लागि प्रयोग भएका युवाहरुको शक्ति अब मुलुक समृद्धिको लागि प्रयोग गर्नुपर्ने बताउनुभयो । हजारौं युवाहरु दैनिक खाडी मुलुकमा श्रम गर्न जाने गरेको सन्दर्भलाई जोड्दै मेयर शाक्यले खाडीमा गरिने काम स्वदेशमै बसेर गर्न युवाहरु लाज मान्ने गरेको बताउनुभयो । स्वदेशमै पाइने काममा सन्तुष्टि खोज्न युवाहरुलाई उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयले युवा परिषद्मार्फत जिल्ला युवा समितिले युवाहरुको क्षमता, प्रतिभा पहिचान र स्वरोजगारको लागि उत्प्रेरित र प्रोत्साहनका लागि कामहरु गर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवा परिषद्का कार्यक्रम, प्रदेश सरकार तथा स्थानीय तहसंगको समन्वय र सहकार्यको बारेमा सहजीकरण गर्नुभएको थियो ।

त्यस्तैैगरी राष्ट्रिय युवा परिषद्का प्रशासकिय प्रमुख डाक्टर बाबुराम ढुङ्गानाले परिषद्का मुख्य कार्यक्रमहरु, प्रदेश र स्थानीय तहमा युवा सम्बन्धि शसर्त अनुदानका कार्यक्रम कार्यान्वयन सहजीकरण र कार्यक्रमको बजेटका बारेमा जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button