तपाईँ सुन्दै हुनुहुन्छः

दुई ठूला बैंक गाभिन राष्ट्र बैंकको स्वीकृति

काठमाडौं । दुई ठूला वाणिज्य बैकहरु ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपाल एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मर्जसम्बन्धी सैद्धान्तिक प्रस्तावलाई स्वीकृति दिएको छ । मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने भएको छ । नयाँ बैकको सञ्चालकमा ग्लोबलको तर्फबाट पाँच जना र जनता बैंकबाट दुई जना रहने छन् ।

बैंक सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकाल नै रहने सहमति यसअघि नै भएको थियो । प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन् ।

सैद्धान्तिक स्वीकृति पाएसंगै अब सम्पति तथा दायित्व मूल्यांकन हुनेछ । मर्जको क्रममा जनताका शेयर लगानीकर्तालाई एक शेयर बराबर ८५ रुपैयाँ दिने सहमति भएको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले मर्जर तथा प्राप्ति थालेपछि १२८ वटा संस्थाहरुको इजाजत खारेज भएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७६ साउन मसान्तसम्म कुल १७१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर र प्राप्ति प्रक्रियामा सामेल भईसकेका जनाएको छ ।

जसमध्ये १२८ वटा संस्थाहरुको इजाजत खारेज हुन गई साउन मसान्त सम्मकुल ४३ संस्था कायम भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button