तपाईँ सुन्दै हुनुहुन्छः

सहकारीको प्राथामिकता : कृषि, पशुपालन र उद्योग

दोलखा– सहकारीको हव बन्दै गएको दोलखाका सहकारी संस्थाहरुले बचत सङ्कलन तथा ऋण लगानीसंगै कृषि, पशुपालन र उद्योग सञ्चालनको लागि समेत विशेष योजना अघि सारेका छन् ।

नेपालकै उत्कृष्ठ सहकारी मध्यको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था चरिकोटले आफ्नौ २२ औ साधारणसभाको अवसरमा ०७६÷०७७ को कार्यक्रम सार्वजनिक गर्दै कृषि, पशुपालन र उद्योग सञ्चालनमा विशेष योजनाका साथ लगानीसंगै उत्पादन र बजार व्यवस्थापनमा समेत काम गर्ने प्रमुख कार्यकारी अधिकृत दिपक वस्नेतले बताउनुभयो ।

हाम्रो जनकल्याण साकोसले अहिले गौरीशङ्कर छाला जुत्ता उद्योगसंग संस्था नीजि व्यवसाय साझेदारी कार्यक्रम अन्र्तगत लगानी गरी उक्त उद्योगबाट उत्पादीत जुत्ताहरुको बजार व्यवस्थापन र उद्योग प्रवद्धनमा सहयोग गरिरहेको छ । गौरीशङ्कर छाला जुत्ता उद्योगले पनि उत्पादीत सामानहरु सहकारीका सदस्यहरुलाई १५ देखि १८ प्रतिशतसम्म छुटमा उपलब्ध गराउदै आएको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत वस्नेतले बताउनुभयो ।

हाम्रो जनकल्याण साकोसले आर्थिक बर्ष ०७६/०७७ को कार्यक्रम अनुसार अब सहकारीमा आवद्ध कृषि पेशामा रहेका सदस्यहरुलाई पशुपालन सम्बन्धि तालिम दिने र दुग्ध उत्पादन, डेरी सञ्चालन र बजार व्यवस्थापनमा समेत सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत वस्नेतले बताउनुभयो ।

सहकारीले दीगो विकास लक्ष्य प्राप्तिमा योगदान पुर्याउने उदेश्यका साथ लक्ष्य १ मा गरिविको अन्त्य, लक्ष्य ४ मा गुणसतरीय शिक्षा र लक्ष्य ६ मा स्वच्छ पानी तथा सरसफाईको नीति अगाडी सारेको छ । सात हजार सात सय ७१ सदस्य रहेको हाम्रो जनकल्याण साकोसको शेयर पुँजी चार करोड, ५७ लाख, २७ हजार आठ सय, बचत संकलन ४० करोड, ९९ लाख, १८ हजार, तीन सय ४५ तथा ऋण लगानी ४३ करोड, ५३ लाख, ८४ हजार आठ सय ३२ रुपैया रहेको संस्थाले जनाएको छ ।

त्यसैगरी स्वर्ण बचत तथा ऋण सहकारी संस्थाले पनि आफ्नो १९ औ बार्षिक साधारणसभा मार्फत पारीत गरेको आर्थिक बर्ष ०७६/०७७ को कार्यक्रममा कृषि, पशुपालन र उद्योग व्यवसायलाई प्राथामीकतामा राखेको छ । स्वर्ण साकोसले संस्थामा आवद्ध २५ देखि ४० बर्ष उमेर समूहका सदस्यहरुलाई लघु उद्यम, उत्पादन मुलक व्यवसाय र उद्योग स्थापना गर्न चाहेमा १० प्रतिशतमा ऋण लगानी गर्ने संस्थाका अध्यक्ष चन्द्र लामाले बताउनु भयो । संस्थाका सदस्यहरुले सहुलियत ब्याजदरमा ऋण लिएर व्यवसाय सञ्चालन गर्दा संस्थाले व्यवसाय प्रवद्धन र बजार व्यवस्थापनमा समेत सहयोग गर्ने अध्यक्ष लामाले बताउनुभयो ।

भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले नगरमा कृषि उत्पादन, उद्योग स्थापना, पशुपालन लगायतको उतपादन मूलक क्षेत्रमा सहकारीले गर्ने लगानीमा नगरपालिकाले समेत बिभिन्न ढङ्गले सहयोग गर्न सक्ने बताउनु भयो । नगरको आर्थिक बृद्धिमा सहकारीहरुको समेत महत्वपूर्ण भूमिका रहने भएकोले नगरपालिका सहकारीसंग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको नगरप्रमुख केसी बताउनु हुन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button