तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वखोलाका सबै वडामा अपाङगता परिचयपत्र वितरण

पाल्पा –  पूर्वखोला गाउँपालिकाले अपांगता भएकाहरुका लागि अपांगता परिचयपत्र वितरण कार्य सम्पन्न गरेको छ । गाउँपालिकाका प्रत्येक वडामा अपांगता परिचयपत्र वितरण शिविर सञ्चालन गरी रातो, निलो, पहेंलो र सेतो कार्ड वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले समाजमा अपाङताप्रतिको हेयभाव हटाउन र सहज जीवनयापनको व्यवस्था मिलाउन स्थानीय सरकार लागि परेको जानकारी दिनुभयो । मेडिकल अधिकृतसहितको टोली गाउँमै पुगेर परिचयपत्र वितरण गर्दा स्थानीय समुदाय खुशी भएको अध्यक्ष थापाको भनाई छ ।

भदौ २६ गतेदेखि ३१ गतेसम्म लगातार शिविर चलेको थियो । सञ्चालित शिविरमा रातो २४, निलो ८५, पहेंलो ४६ र सेतो २८ गरी १ सय ८३ जनालाई परिचय पत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले बताउनुभयो ।

उपाध्यक्ष भट्टराईका अनुसार अपांगता परिचय पत्रका आधारमा रातो परिचय पत्र हुनेले मासिक ३ हजार र निलो परिचय पत्र हुनेले मासिक १ हजार ६ सय रुपैँया रकम पाउने छन् । पहेंलो र सेतो परिचय पत्र पाउने अपांगता भएकाहरुलाई सिपमूलक तालिम प्रदान गरी आयआर्जन कार्यक्रम दिने गाउँपालिकाले जनाएको छ ।

वडा नं १ को सिलुवामा रातो ३, निलो ३, पहेंलो ११ र सेतो २ वटा, वडा नं २ को जल्पामा रातो ३, निलो ७, पहेंलो ४ र सेतो २ वटा, वडा नं ३ को रिङनेरहमा रातो २, निलो १७, पहेंलो ५ र सेतो ७ वटा, वडा नं ४ को देविनगरमा रातो ३, निलो १६, पहेंलो ७ र सेतो १ वटा, वडा नं ५ विरकोटमा रातो ५, निलो २२, पहेंलो १८ र सेतो १३ वटा र वडा नं ६ हेक्लाङमा रातो ८, निलो २०, पहेंलो १ र सेतो ३ वटा परिचय पत्र शिविरबाटै वितरण गरिएको ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत विपना कुवँरले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button