तपाईँ सुन्दै हुनुहुन्छः

आलेख : लेकाली क्षेत्रमा लोभलाग्दो कमाइ

फिक्कल। हरेक दिन बिहान सबेरै उठ्नु, नित्यकर्म सकेर गाई दुहुनु र खोले ख्वाएर ती गाईलाई जङ्गल पठाउनु ताराबहादुर चौहानको दैनिकी हो । उनका गोठमा दश माउ गाई छन् । ती निकै पर पुगिसकेपछि बाछाबाछी पनि छोड्नु हुन्छ उहाँ । बाछा ढिलो छोड्नु दिउँसो जङ्गलमा माउसँग बाछाबाछीको भेट नहोस् भनेर हो । यदि माउसँग भेट भयो भने बाछाबाछीले दूध खाइदिन्छन् ।

चौहान गाई पालेर गोठमै बस्नुहुन्छ । लेकाली क्षेत्रमा सधैंजसो पानी परिरहन्छ । नभए कुहिरो लागिरहन्छ । जब गाई र तिनका बाछा जङ्गलतर्फ लाग्छन् उहाँ हातमा थोत्रे चप्पल लिएर गाईबाछाले गोब्र्याएको मल सोहोर्नुहुन्छ । गाई बाँध्ने थलालाई सफा बनाएर बेलुका र बिहान दोहेको दूध आफ्नै डेरीमा पेल्नुहुन्छ । एकातर्फ दूधको चिल्लो पदार्थ क्रिम झर्छ त अर्कातर्फ छुर्पी बन्ने क्रिम बिनाको पातलो दूध निस्कन्छ । उहाँ क्रिम जतनसाथ एक भाँडामा राख्नुहुन्छ ।

अर्कातिरबाट झरेको पातलो दूधलाई ठूलो भाँडोमा जम्मा गरेर आफैँले जमीन खनेर बनाएको चुल्होमा बसाल्नुहुन्छ र त्यसलाई तताएर फटाएपछि बनेको सेर्गेमलाई छुर्पी बनाउनुहुन्छ । उहाँका हरेक काममा उत्तिकै साथ दिनुहुन्छ श्रीमती सुजता खड्का (चौहान) ।त्यस्तै, सूर्योदय नगरपालिका–१ लामिधुराका जगतबहादुर राईको दैनिकी पनि उस्तै छ । उहाँ पनि बिहान गाईलाई खोले दिएर जङ्गल पठाउनुहुन्छ । बेलुका गाई अगाएर आउँछन् । खोले दिएर बाँधेर बिहानजस्तै दोहेपछि उहाँको पनि एक दिनको गाईवस्तु स्याहार्ने काम सकिन्छ । उहाँ पनि आफैं डेरी सञ्चालन गर्नुहुन्छ ।

इलाम देउमाई नगरपालिका वडा नं १ कुइभिर नजीकका तेन्जी शेर्पाको पनि गोठ छ । कमाई राम्रै भएर लेक छाड्न नचाहने उहाँ घरघरमा पुग्ने सडक नबनेर पिर मान्नुहुन्छ । उहाँहरु गोठमै रमाउनु हुन्छ । नजीक अस्पताल नहुनु, सडकको अवस्था राम्रो नहुनु र छोराछोरी पढाउने विद्यालय नजीक नहुनु जस्ता समस्याहरु लेकमा छन् । शेर्पाले भने डेरी राख्नुभएको छैन । सबै काम एउटैले गर्न नहुने विचार राख्ने उहाँ दूध बेच्नमै रमाइलो मान्नुहुन्छ ।

डेरी राख्ने उहाँहरुले आफ्नो गोठका गाईको मात्र दूध डेरीमा पेल्नुहुन्न । पातलो गाउँ भए पनि अन्य गोठबाट आएको दूध पनि पेल्नुहुन्छ । चौहानको डेरीमा दैनिक १०० लिटर जति दूध जम्मा हुन्छ । श्रीमती ४ वर्षे नानी च्यापेर करीव पाँच किलोमिटर टाढा रहेको माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारस्थित विद्यालय पु¥याउन जानुहुन्छ । घना जङ्गल पार गरेर दैनिक नानी पु¥याउन जाने मात्र हैन बेलुका छुट्टी भएपछि लिन पनि उहाँ नै जानुहुन्छ । नानीलाई विद्यालय पु¥याउन र लिन जान मै उहाँको दैनिक चार घण्टा समय बित्छ ।

लेकको बसाइ त्यति सहज भने छैन । चरनमा गएका गाईबाछासँग आएको जुका सुत्ने ओछ्यानमा पनि हुन्छन् । सामान्य लाग्छ त्यस लेकाली परिवारलाई जुका । गाईगोठसँगै गाँसिएको छाप्रोमा उहाँहरुको परिवार बस्नुहुन्छ । दश माउ गाई पाल्नुभएका चौहानले पाँच माउ मात्र दुहुनुहुन्छ । उहाँ बेलुका र बिहानको गरेर पाँच माउ गाईको करीव २० लिटर दूध पेल्नुहुन्छ ।

“त्यति दूधबाट तीन किलो भन्दा बढी घिउ र साढे दुई किलोभन्दा बढी नै छुर्पी बन्छ,” चौहानले भन्नुभयो । घिउ घरबाटै ५५० रुपैयाँ प्रतिकिलो र छुर्पी ८५० रुपैयाँ प्रतिकिलो बेच्नुहुन्छ उहाँ । उहाँ घिउ र छुर्पी कहिले घरबाटै बेच्नु हुन्छ त कहिले नयाँबजारसम्म पु¥याउन जानुहुन्छ । अरुको दूध पेलेर पनि सामान्य नाफा हुने उहाँको भनाइ छ । चौहान परिवारको दिनमा नहुँदा पनि तीन हजार र सिजनमा छ हजारसम्म कमाइ हुने गरेको छ । खानपिन र छोराछोरी पढाएर पनि राम्रो बचत हुने उहाँहरु बताउनुहुन्छ ।

जगत बहादुर राईको पनि चौहानकै हाराहारीमा कमाइ हुन्छ तर, उहाँ त्यस क्षेत्रमा उत्पादित घिउ र छुर्पी खरिद गरेर दार्जिलिङ र अन्य बजारमा पनि बेच्न लैजानुहुन्छ । उहाँले त झन दार्जिलिङमा घर नै जोडिसक्नु भएको छ । उहाँका दुईवटा मान्छे बोक्ने गाडी पनि छन् । कमाइको मुख्य स्रोत गाईगोठ नै हो ।

लेकमा बस्ने भए पनि ती परिवार प्रायः एक्लै बस्नु पर्दैन । थुम्केका चौहानको गोठमा कहिले इलाम बजार त कहिले नयाँबजारबाट गोठमा बस्न मान्छे जान्छन् । त्यस क्षेत्रमा बाटो खन्ने मेसिनका चालक र सहचालक पनि बास बस्छन् । कहिले आफ्नै पाहुना त कहिले पैसा तिरेरै खान र बस्न आएका पर्यटकहरु । लामिधुराका राईको गोठसँगै पर्यटकका लागि होटल र लज नै सञ्चालन गरिएको छ । लामिधुरा देशको पूर्वी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य जाने मुख्य सडक हो । त्यही भएर पनि यहाँ पर्यटकको चाप हुने गरेको छ ।

गोठमा बस्दाको अनुभव लिन धेरै पर्यटकहरु गोठमा जाने गर्दछन् । सुतेको पैसा लाग्दैन, खाएको पैसा तिरे पुग्छ ।
“त्यसबाट सामान्य मात्र कमाइ हुन्छ,” चौहानले थप्नुभयो – “मुख्य कमाइको स्रोत भनेको गोठ हो, घिउ र छुर्पी नै हो ।”
कमाइ राम्रै हुन्छ लेकमा बस्ने किसानहरुको । लेकाली क्षेत्रमा बाटो नभएर गाईको दाना र खोले भने महङ्गो हुने गरेको छ । उहाँहरु लेकमा मकै र आलु पनि रोप्नुहुन्छ । आलु बँदेलले उधिन्ने र मकैमा छिर्के रोग लाग्ने भएपछि यसबाट आम्दानी लिन नसकिएको उहाँहरुको भनाइ छ । यी बालीको विकल्प सोच्दै हुनुहुन्छ उहाँहरु । स्थानीय सरकार र सम्बन्धित निकायले बँदेल नियन्त्रणमा ध्यान दिनुपर्ने उहाँहरुको भनाइ छ ।

जिल्लाको थुम्के, सन्दकपुर, मेग्मालगायत स्थानका दर्जनांै किसानले गोठ पालेका छन् । अरु किसानहरुको दैनिकी पनि उस्तै हो । गोठसँगै लेकाली क्षेत्रमा जाने अनि अर्गानिक उत्पादन खाने रहर शहरवासीलाई हुन थालेको छ । त्यसैले धेरै पर्यटकहरु लेकाली क्षेत्रमा जान थालेका छन् । “एक दिन भए पनि शुद्ध अर्गानिक खान पाइन्छ,” नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराईले भन्नुभयो । भट्टराई इलाम सदरमुकाम बस्नुहुन्छ । उहाँ एक दिन भए पनि नयाँ अनुभव लिन गोठमा खान र बस्न गएको बताउनुहुन्छ ।

नयाँबजारका देवी अधिकारी वर्षमा दुई–तीन पटकसम्म गोठमा बस्न जाने गरेको बताउनुहुन्छ । “इलाम अनि, बाहिरबाट साथीहरु आउँछन्, उनीहरु लिएर जानै पर्छ,” अधिकारीले भन्नुभयो । उहाँका अनुसार बजार क्षेत्रमा बसोबास गर्ने धेरै मानिस लेक क्षेत्रमा बस्न र रमाइलो गर्न जाने गरेका छन् । आन्तरिक पर्यटक प्रवद्र्धन गर्न यस्ता गोठहरुको संरक्षण गर्नुपर्ने माइजोगमाईका स्थानीयवासी राजीव भट्टराई बताउनुहुन्छ । सडकको अवस्थामा सुधार आए पर्यटकलाई सहज हुन्छ ।

माइजोगमाईबाट थुम्के हुँदै सन्दरपुर जाने सडकको मर्मत भइरहेको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताउनुभयो । यहाँ डेढ करोडको लागतमा नालीसहित सडक मर्मत सुधारको काम हुँदैछ ।

देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलले देउमाई नगरपालिकाभित्रका सम्भावना बोकेका पर्यटकीय स्थलहरुको प्रचार र प्रवद्र्धन गर्न आफूहरु लागिपरेको बताउनुभयो । लेकमा कमाइ भए पनि बस्न असहज छ । लेकका किसानले स्थानीय तहको गठनपछि केही राहत महशुस गरेका छन् । सन्दकपुर, मेग्मा, कुहिभिर, थुम्केडाँडा, लामिधेरा लगायतका लेकाली क्षेत्रमा विकासका पूर्वाधार बनाइदेओस् भन्ने उहाँहरुको आग्रह छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button