तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ‘मकै जोन’ कार्यक्रम सुरु

झापा– झापामा मकै उत्पादन वृद्धिका लागि विशेष क्षेत्र समेटेर ‘मकै जोन’ कार्यक्रम यसै आर्थिक वर्षको सुरुवातदेखि लागू भएको छ । जिल्लामा नयाँ कृषि कार्यक्रमका रूपमा मकै जोन थप भएको हो ।

यसले किसानलाई मकै उत्पादन भएपछि भण्डारण र प्रशोधनका लागि सहयोग हुने विश्वास गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन परियोजना एकाइ झापाका सूचना अधिकारी रविन निरौलाका अनुसार मकै जोन कार्यक्रमको प्रारम्भिक तयारी अनुसार क्षेत्र छनोटको काम सकिएको छ । यसका लागि कम्तीमा पनि पाँच सय हेक्टर जमिनको कलस्टर छनोट गर्नुपर्ने हुन्छ ।

उहाँका अनुसार झापा गाउँपालिका–६ र कन्काई नगरपालिका–५ लाई मकै जोनका रूपमा विकास गर्ने प्रस्ताव आएको छ । प्रक्रिया र कलस्टर छुट्याएर निवेदन आएको र यहीँ मकै जोन कार्यक्रम लागू हुने उहाँले बताउनुभयो । यसका लागि एक करोड रुपियाँभन्दा बढी बजेट पनि संघिय सरकारबाट विनियोजन भएर आएको उहाँले जानकारी दिनुभयो ।

मकै खेतीको विस्तार र प्रवद्र्धनका लागि प्राविधिक तथा ज्ञान अभिवृद्धिका लागि सहयोग पु¥याइने सुपरजोन कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मकै उत्पादन गर्ने किसान तथा कृषक समूहको सूचीकृत गर्ने काम भइरहेको छ । सूचीकृत भइसकेपछि यस क्षेत्रको अनुगमन गरेर आवश्यकताका आधारमा सहयोग गरिने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button