तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रदहमा दर्शनार्थीको भीड

भादगाउँ । सिद्धपोखरीले समेत परिचित भक्तपुरको इन्द्रदहमा आज बिहानैदेखि श्रदालु भक्तजनको भीड लागेको छ । इन्द्रदहमा स्नानगरी इन्द्रजात्राको अवसरमा शुक्रबार साँझ खौमाबाट बाजागाजासहित ल्याइएको इन्द्रायणीदेवी दर्शन, पूजाआजा गर्ने भक्तजनको भीड लागेको हो ।

यसअघि भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी देवीलाई खट जात्रा गर्दै नगरपरिक्रमा गराई इन्द्रदह ल्याइएको थियो । इन्द्रदहमा दीपावली गरी इन्द्रायणी देवीलाई इन्द्रदहमा विराजमान गराइएको थियो । देवीलाई आज साँझ जात्रा गर्दै खौमास्थित द्यः छेंमा विराजमान गराइने परम्परा रहेको छ ।

इन्द्रदहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुख समृद्धि मिल्ने जनविश्वास छ । इन्द्रदहमा वासुकी नागको बसोबास रहेको विश्वास गरिन्छ । अनावृष्टि भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा आई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गर्ने प्रचलन रहेको छ ।

इन्द्रदह परिसरमा लिच्छविकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्ति छन् । त्यहाँ रहेको शिवलिङ्गमा जल चढाइ पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वाससमेत रहेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button