तपाईँ सुन्दै हुनुहुन्छः

प्रवक्ताको गाडी आगजनी

भीमदत्तनगर-कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा गए राति करीब १ः०० बजेको समयमा आगजनी गरिएको प्रवक्ता सिंहले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहनरूपमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।  वडा कार्यालयमा आगजनी कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ ।

प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व समूहको सात बुँदे असहमतिसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ । मध्यरातमा आगजनी गरिएको भए पनि प्रहरीले भने आज बिहान ६ बजे खबर पाएको थियो । आगजनी गर्ने समूहको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button