तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता भदौ २९ गते हुने

खलङ्गा –  जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता यही भदौ २९ गते हुने भएको छ । कर्णाली खेलकूद क्लब जुम्लाको आयोजनामा हुन लागेको म्याराथनमा राष्ट्रिय र भारत,चीनलगायतका अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता हुने छ ।

शुक्रबार कर्णाली खेलकूद क्लब जुम्लाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा म्याराथनका बारेमा जानकारी दिइएको हो ।   कर्णाली क्षेत्रको समग्र विकासबाट अधिकतम प्रतिफल हासिल गर्ने गरी आगामी दिनमा सम्भावित पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुगोस् भन्नका लागि म्याराथन आयोजना गरिएको कर्णाली खेलकूद क्लबका अध्यक्ष सरोज शाहीले बताउनु भयो । उहाँका अनुसार यो म्याराथनले कर्णालीमा पनि खेल पर्यटनको सम्भावना अधिक रहेको सन्देश प्रवाह गर्ने छ । यो म्याराथन नेपाल ट्रेल सेरिज २०१९ को प्रमुख पाँच अल्ट्रा म्याराथनमध्ये एक रहेको छ ।

म्याराथन कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरबाट शुरु भएर टुँडिखेल, कर्णाली अस्पताल, खोलिकोट, कर्णाली प्राविधिक शिक्षालय, चेरेचौर, खाली, न्याउर, काभ्रा, चौथा, भुलभुले र चुचेमारा भएर रारातालमा पुगेर समापन हुने बताइएको छ । प्रतियोगितामा खुला महिला र पुरुष गरी दुई समूहमा म्याराथन हुने छ । बालबालिकाका लागि पाँच किलोमिटर र एक किलोमिटर दौड सञ्चालन गराइने एथ्लेटिक्स धावक हरिबहादुर रोकायाले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै समूहका विजेता धावकहरुलाई क्रमशः प्रथमलाई रु ७५ हजार, द्वितीयलाई रु ५० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिनेछ ।

यसैगरी टप टेनसम्ममा आउने खेलाडीलाई पाँच हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ । यो म्याराथनमा विजेता धावकले अन्नपूर्णमा पहिलो पटक हुन लागेको विश्वविख्यात, अल्ट्रा म्याराथन २०१९ को फाइनलमा विश्वका उत्कृष्ट खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न पाउने भएका छन् । म्याराथनमा सहभागिताका लागि दर्ता शुल्क एक हजार पाँच सय रुपैयाँ लाग्ने रोकायाको भनाइ छ ।

म्याराथन सञ्चालनका लागि जुम्लाका स्थानीय तहसँग समन्वय भइरहेको धावक रोकायाले बताउनु भयो । म्याराथनले रेसको ब्राण्ड नभई ठाउँको प्रमोशनमा टेवा पुग्ने उहाँको दाबी रहेको छ ।

एथ्लेटिक्स सङ्घका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले खेलकूद परिषद्मा भइरहने चर्को राजनीतिले नेपालको खेल क्षेत्रअघि बढ्न नसकेको बताउनुभयो । अहिलेसम्म ४९ जिल्लामा एथ्लेटिक्स सङ्घ रहेका छन् । सङ्घले हरेक जिल्लाबाट नियमअनुसार खेलाडी उत्पादन गर्नुपर्ने उहाँको भनाइ छ ।

सो म्याराथन आयोजना गर्न हालसम्म तिला गाउँपालिकाले एक लाख, चन्दननाथ नगरपालिकाले पाँच लाख र एथ्लेटिक्स सङ्घका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले आफ्नोतर्फबाट रु एक लाख सहयोग गर्ने आश्वासन दिनुभएको छ । जुम्ला रारा अल्ट्रा म्याराथन गर्न अनुमानित ३३ लाखसम्मको बजेट आवश्यक पर्ने उहाँले बताइएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button