तपाईँ सुन्दै हुनुहुन्छः

​प्रधानमन्त्री ओलीद्वारा हरितालिका तीजको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले नेपाली महिलाहरुले विगतमा कष्टकर सामन्ती संस्कार र कैयन कुचलनको बोलवाला रहेका बेला वा समानताको मान्यता स्थापित नभएको परिवेशमा समेत तीजलाई थोरै भए पनि राहतको अनुभूति गराउने पर्वका रुपमा मनाउने गरेका स्मरण गर्नुभएको छ । “नेपालको सकारात्मक साँस्कृतिक परम्परामा महिला मुक्ति वा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व छ,” तीजका अवसरमा प्रधानमन्त्रीले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “आज नेपाली महिलालगायत समाजमा लामो समयसम्म आर्थिक–सामाजिक अवसरहरुबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्दै पर्याप्त कानुनहरु बनिसकेका छन् ।”

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाहरुको नागरिक तथा राजनीतिक अधिकारहरुको प्रयोगको अवस्था विश्वमा नै गौरव गर्न लायक रहेको पनि बताउनुभएको छ । “राजनीतिक लगायत समाजका अन्य क्षेत्रमा नेपाली महिलाहरुको उपस्थिति उल्लेखनीय रहेको छ । महिलाको प्रतिनिधित्व संसदमा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४१ प्रतिशत पुगेको छ भन्ने तथ्यले प्रत्येक नेपालीलाई गौरवानुभूति हुने गरेको छ,” शुभकामना सन्देशमा भनिएको छ, “नीति निर्माणको तहमा महिलाहरुको यस प्रकारको उपस्थितीले आउँदा दिनहरुमा महिला र पुरुषबीच सारभूत समानताका व्यवस्था अझ सुदृढ हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button