तपाईँ सुन्दै हुनुहुन्छः

फागुनमा पर्यटन लगानी सम्मेलन आयोजना गरिने

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण वर्ष सचिवालयले पर्यटन लगानी सम्मेलन गर्ने तयारी गरेको हो ।

पर्यटनमा लगानीको दुई पक्षीय सम्झौता गर्ने गरी लगानी सम्मेलन आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिनुभयो ।

एशियाली विकास बैंक, विश्व बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी)सँगको साझेदारीमा पर्यटन लगानी सम्मेलन गरिनेछ ।

सम्मेलनमा छिमेकी मुलुक भारत र चीनका अलावा युरोप, मध्यपूर्वी एशिया लगायत मुलुकबाट पनि लगानीका लागि व्यवसायी आउने जनाइएको छ ।

पर्यटनको कुन क्षेत्रमा कस्तो लगानी गर्ने भनेर सातवटै प्रदेशका मुख्यमन्त्री र निजी क्षेत्रसँग छलफल गरिएको छ ।

तुलनात्मक रुपमा कम पर्यटक आउने प्रदेश नं २ लाई नेपालको अध्यात्म पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसहित प्रवर्द्धनको गतिविधि बढाइनेछ ।

प्रदेश नं ५ मा पर्यटकीय पूर्वाधार तारे होटल, सपिङ सेन्टर, अध्यात्म केन्द्र आदि सञ्चालन गर्न सरकारसँग ५० वर्षका लागि जग्गा भाडामा दिलाउन माग गरिएको संयोजक वैद्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button