तपाईँ सुन्दै हुनुहुन्छः

कानून बनाउँदा उपभोक्ताको हितलाई ध्यान दिनुपर्छ

वीरेन्द्रनगर-उपभोक्ताको संरक्षणसम्बन्धी कानून बनाउँदा उपभोक्ताको हितलाई मध्यनजर गरेर कानून निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उपभोक्ताको अधिकारभित्र मानवका आधारभूत अधिकार जोडिने भएकाले कानून बनाउँदा संवेदनशील हुनुपर्ने उनीहरुको भनाइ थियो ।

युएनडिपीको सहयोगमा कर्णाली फाउण्डेशनले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कर्णाली प्रदेश उपभोक्ता संरक्षण गर्न बनेको विधेयक २०७५ माथि आयोजित छलफल कार्यक्रमका सहभागीले उपभोक्तामैत्री कानून निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता नारायण घिमिरेले प्रदेशले कानून बनाउँदा सङ्घीय कानूनसँग नबाझिने गरी उपभोक्ताको हितलाई ध्यानमा राखेर निर्माण गर्न सुझाव दिनुभयो ।

उहाँले मस्यौदाको प्रस्तावनामा प्रदेश सरकारले ऐन बनाउनुपर्ने गरी प्रत्यायोजन भएको संवैधानिक कानूनी स्रोत खुलाउनु आवश्यक रहेको औँल्याउनुभयो । कार्यक्रममा सांसद एवं सामाजिक विकास समितिका संयोजक राजु गुँइदेलले मस्यौदामाथि विस्तृत छलफल गरेपछि मात्र ऐन बनाउने बताउनुभयो । सांसद विन्दमान विष्टले पेट भर्न नै ग्रसित भएको क्षेत्र कर्णालीमा उपभोक्ताको अधिकारका विषयमा कुरा नउठेको भन्दै प्रदेश सरकारले बनाउने कानून उपभोक्तमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरु पद्मा खड्का, अमृता शाही, मीनासिंह रखाल र देवी वलीले ऐनको मस्यौदा निर्माण हुँदै गर्दाको पूर्वसन्ध्यामा यस विषयमा छलफल हुनु लाभदायक रहेको भन्दै उपभोक्ताको हितलाई ध्यानमा राख्नुपर्ने विचार राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button