तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीमा पानीको बहाब घट्दै

नेपालगञ्ज-बाँकेको राप्ती नदीमा हिजो दिउँसोदेखि बढेको पानीको बहाब रातिदेखि भने घट्दै गएको  छ । हिजो दिउँसोदेखि पानीको वहावले खतराको तह पार गरेको थियो । कुसुमको बाढी मापन केन्द्रका अनुसार हिजो साँझ पौने ६ बजे पानीको सतह ५ मिटर ९२ सेन्टिमिटर पुगेको थियो । झण्डै ६ मिटर पुगेको पानीको तह रातिदेखि भने घटेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभयो ।

अहिले राप्ती नदीमा पानीको सतह ५ मिटर रहेको छ । ‘हिजो साँझ हामी राप्ती क्षेत्र हेरेर आयौं, दिउँसोदेखि बढेको बहाब रातिदेखि भने घटेको छ, अहिले त्यस्तो खतरा छैन तर पानी निरन्तर परिरहेकाले पानीको सतह जतिबेला पनि बढ्ने जोखिम कायमै रहेकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सजग रहन आग्रह गरेका छौं, प्रमुख जिल्ला अधिकारी भुजेलले भन्नुभयो । जिल्लाको राप्तीसोनारी गाँउपालिका वडा नम्बर ५, ६, ७ र डुडुवा गाँउपालिकाको वडा नम्बर १ वाढीको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी भुजेलले बताउनुभयो ।

बाँकेमा नदीय तटीय क्षेत्रका झण्डै २४ हजार बासिन्दा प्रत्येक वर्ष बाढीको जोखिममा पर्ने गरेका छन् । बाँकेको नेपाल–भारत सीमा क्षेत्र नजीक भारतले अन्तर्राष्ट्रिय नियम विपरित लक्ष्मणपुर बाँध र तटबन्ध बनाएपछि नदी तटीय क्षेत्रका बासिन्दा बाढी र डुबानको जोखिममा छन् । गत वर्ष बाढी र डुबानमा परी बाँकेमा आठ जनाको मृत्यु भएको थियो भने ठूलो जनधनको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ ।

यस वर्ष बाँकेमा बाढी र डुबानको जोखिम कम गर्न तथा तत्काल उद्धार र राहतका लागि जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरेको छ । बाढी र डुबानको विपद् आएको समयमा नागरिकको उद्धारका लागि आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button