तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा मन्त्रीले जवाफ दिने क्रम जारी

काठमाण्डौ, सिर्जना थापा । राष्ट्रिय सभाको आजको बैठकमा पनि आर्थिक वर्ष २०७६÷७७ को वजेटमाथि सदनमा उठेका विषयमा सम्वन्धित मन्त्रीले जवाफ दिने क्रम जारी रह्यो ।

बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले खाद्यान्नमा प्रयोग हुने सवै खाले विषादी परीक्षणका लागि ९ देखि १० महिना भित्र सुविधासम्पन्न ल्याब बनाउने तयारी भई रहेको वताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आगामी आर्थिक वर्षमा कर्मचारी प्रशासनलाई विकास तथा सुशासनमैत्री बनाउन मन्त्रालयले गृहकार्य प्रारम्म गरेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश तथा स्थानीय तहका लागि लोकसेवा आयोगबाट विज्ञापन भइ प्रक्रिया अगाडि बढेको र स्थानीय तहबाट हुने विकास र सेवा प्रवाहलाई सहज पारिएको बताउनु भयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने गरी वजेट व्यवस्था गरेको बताउनुभयो ।

उहाँले रोजगारी बढाउने तथा काम गर्न सक्नेलाई श्रमसँग जोड्ने, सम्भावित रोजगारीको खोजी गर्ने र न्यूनतम रोजगारीलाई प्रत्याभूत गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ज्येष्ठ नागरिक मिलन केन्द्र र ज्ञान सीप हस्तान्तरण कार्यक्रम आगामी आर्थिक वर्षमा संञ्चालन गरिने जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले यस वर्षदेखि जुनसुकै सडक बनाउँदा कम्तिमा पाँच वर्षको जिम्मा लिने र गुणस्तर कायम गर्ने कुरामा जोड दिएको बताउनुभयो ।्

उहाँले मध्यपहाडि राजमार्ग, हुलाकी राजमार्ग लगाएतका राजमार्ग निर्माणको कार्यलाई लक्ष्य भन्दा अगावै सम्पन्न गर्न द्रुत गतिमा अगाडि बढाएको पनि बताउनुभयो ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माणमा सदन बाहिरभन्दा सदनभित्रै छलफल गर्ने परिपाटी बसाउन लागिएको बताउनुभयो ।

नयाँ कानून निर्माणमा निश्चित अवधि तोक्नेबारे पनि छलफल भइरहेको मन्त्री ढकालले जानकारी दिनुभयो ।

राष्ट्रिय सभाको अर्को वैठक भोली विहान ११ वजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button