तपाईँ सुन्दै हुनुहुन्छः

गुजारेमा घरघरमा खानेपानी

वालिङ-खानेपानीको जोहो गर्दैमा दैनिकी गुजारेका यहाँका ५४ घरपरिवारमा पानीसँगै खुशियाली छाएको छ । स्याङ्जाको वालिङ–७ हिलेपानीस्थित गुजारेमा लिफ्टिङ गरी खानेपानी गाउँमा पु¥याइएको हो ।

गाउँभन्दा झण्डै ११० मिटर तल बाहुनधारा मूलबाट १६ सोलार प्यानलको माध्यमबाट पानी तानिएको छ । वालिङ नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र मल्लका अनुसार मुहान र गाउँमा २०÷२० हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ । घर नजिकै खानेपानीको मुहान नहुँदा यहाँका बासिन्दालाई पानी ओसार्नमै दिन बित्ने गरेको बाहुनधारा हर्रेडाँडा लिफ्टिङ खानेपानी योजना हिलेपानीका अध्यक्ष विक्रान्त अधिकारीले बताउनुभयो ।

वालिङ नगरपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख र गत आवमा रु सात लाख रकम विनियोजन गरेको थियो । स्थानीयवासीले करीब रु दुई लाख बराबरको जनश्रमदान गरी खानेपानी आयोजना निर्माण गरेको वडासदस्य इन्द्रबहादुर गुरुङले बताउनुभयो । चौवन्नमध्ये ४४ परिवार दलित समुदायको रहेको छ । दैनिक पानी खोल्ने कर्मचारीलाई मासिक रु दुई हजार पारिश्रमिक उपलब्ध गराउने र मर्मतसम्भार कोष स्थापनासमेत गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button