तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणाधीन सडकमा बलौटे माटो प्रयोग भएको शङ्का

टीकापुर-टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का व्यक्त गरेका छन् । रमण केएस जेभीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी दुई दशमलव तीन किलोमिटर सडकको काम थालेको छ ।

निर्माण पक्षले सडकमा माटो पटानीको काम थालेको छ । उसले बलौटे माटो प्रयोग गरेका कारण सडकको गुणस्तरप्रति स्थानीयवासीले शङ्का व्यक्त गरेका हुन् । सडक निर्माणका क्रममा प्रयोग गर्ने माटोको ल्याब परीक्षण गर्नुपर्नेमा निर्माण पक्षले त्यसो नगरेको पाइएको छ ।

माटोको ल्याब परीक्षण नगरेरै निर्माण पक्षले सडकको अधिकांश भागमा माटो पटानी गरेको छ । स्थानीय बासिन्दा शिवदत्त उप्रेतीले सडकमा बिछ्याएको माटो बलौटे भएको बताउनुभयो । उहाँले बलौटे माटो प्रयोग गर्दा सडक गुणस्तरीय हुनेमा शङ्का उब्जिएको बताउनुभयो ।

सङ्घीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इञ्जिनीयर त्रिलोक जोशीले सडकमा प्रयोग भएको माटोको ल्याब परीक्षण नभएको बताउनुभयो । उहाँले निर्माण पक्षले अनिवार्य दुईपटक माटोको ल्याब परीक्षण गर्नुपर्ने प्रावधान रहेको जानकारी दिनुभयो । प्रावधानअनुसार सडक निर्माणमा प्रयोग गर्नुभन्दा पहिले र निर्माण गरिसकेपछि स्थलगतरूपमा माटोको परीक्षण गरिन्छ ।

उहाँले माटोको ल्याब परीक्षण गर्दा अनुपयुक्त भए ठेकेदारले सडकमा बिछ्याएको सबै माटो उठाउनुपर्ने बताउनुभयो । उहाँले सडकमा बलौटे माटो प्रयोग भएको बारेमा जनगुनासो आएको बताउनुभयो । प्राविधिकका अनुसार निर्माण पक्षले सडक निर्माणका क्रममा बिछ्याएको माटो रोलिङ गर्नुपर्ने हो । बीस देखि २५ सेन्टिमिटर माटो बिछ्याएपछि अनिवार्य रोलिङ गर्नुपर्ने प्रावधान छ ।

तर, निर्माण पक्षले करीब दुई फिट माटो बिछ्याउँदासम्म पनि रोलिङ गरेको छैन । स्थानीयवासीले सडक निर्माणको काम लापरवाही ढङ्गले शुरु भएको आरोप लगाएका छन् जसका कारण उनीहरु सडक निर्माणको काम गुणस्तरीय हुनेमा शङ्का गर्न थालेका छन् ।

निर्माण पक्षले आयोजनाका बारेमा विवरणसहितको सार्वजनिक सूचनासमेत जारी गरेको छैन । कुनै पनि आयोजनाको आवश्यक जानकारीसहितको सूचना सार्वजनिकस्थलमा टाँस गर्नुपर्ने प्रावधान छ ।

स्थानीयवासीका अनुसार कुनै पनि स्थानमा त्यस्तो सार्वजनिक सूचना देखिएको छैन । स्थानीयवासी टेकनारायण पौडेलले निर्माणसम्बन्धी कुनै सार्वजनिक जानकारी नदिइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button