तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको प्रदेश नंं. २ को प्रदेश प्रसारण सेवाको आजदेखी शुभारम्भ

बर्दिवास: रेडियो नेपालको प्रदेश नंं २ को प्रादेशिक प्रसारण सेवाको उद्घाटनको तयारी पूरा भएको छ । यस अघि केन्द्रमा उत्पादन भएका सामग्री ट्रान्समिटिङ्ग स्टेशन मार्फत प्रसारण गर्दै आएकोमा भोलिदेखि औपचारिक रुपमा नै नयाँ स्टुडियो कक्षको उद्घाटन संगै दैनिक रुपमा प्रदेश नम्वर २ बाटै मैथिली, भोजपुरी, मगही तथा नेपाली भाषाको समाचार तथा कार्यक्रमको उत्पादन तथा प्रसारण गरिने रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले बताउनुभयो ।

बर्दिवासमा रेडियो नेपालले हालका लागि १०३ मेगाहर्जमा सुनिने १ हजार वाटको एफ.एम उपकरण तथा नयाँ स्टुडियो निर्माण गर्ने कार्य सम्पन्न गरेको प्रादेशिक प्रसारण केन्द्रका प्रमुख रामपुकार रामले बताउनुभयो ।

यसैगरी १० किलोवाटको मिडियम वेभ सेवा पनि सञ्चालनमा रहने भएको छ । प्रादेशिक प्रसारण सेवा दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म चल्ने पनि प्रादेशिक प्रसारण कार्यालय प्रदेश नंं २ का प्रमुख रामपुकार रामले बताउनुभयो । अहिलेको १ हजार वाटको एफ एम सेवा सञ्चालन गरिए पनि निकट भविष्य मै क्षमता विस्तार गरी ५ हजारमा पुर्याउने लक्ष्य रहेको कार्यकारी निर्देशक कार्कीले बताउनुभयो ।

रेडियो नेपालले देशमा आएको परिवर्तन अनुसार आफ्ना सेवा विस्तार गरी प्रदेश स्तरमा पुर्याउने कामलाई उच्च प्राथमिकतामा राखेर कामकाज गरिरहेको र त्यसै अनुसार प्रदेश नम्वर २ को बर्दिवासबाट प्रादेशिक प्रसारण सेवाको शुभारम्भ गर्न लागेको रेडियो नेपालका नायव कार्यकारी निर्देशक बुद्धी बहादुर केसीले बताउनुभयो ।

रेडियो नेपालको प्रदेशिक कार्यालयको उद्घाटन  सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले गर्नुहुने कार्यक्रम रहेको छ ।  कार्यक्रममा प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रमलाई संबोधन गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button