तपाईँ सुन्दै हुनुहुन्छः

‘साँस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचार–प्रसार गर्नुपर्छ’

केशव ढुंगाना । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आर्थिक विकासका लागि साँस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचार–प्रसार गर्नुपर्ने बताउनुभएको छ ।

गन्तव्य नेपालको १५ औं वार्षिक उत्सवका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपालको साँकृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गरी विश्वको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

आजै, नेपाल वादोरियो कराते सङ्घले काठमाडौँमा आयोजना गरेको चौथो अन्तराष्ट्रिय वादोरियो कराँते प्रतियोगिताको शुभारम्भ गर्नुहुदै अध्यक्ष प्रचण्डले देश निर्माणमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलाडीको मनोबल उच्च राख्न सरकारले महत्वपूर्ण योजना अगाडि ल्याएको बताउनुभयो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले परिषद्ले नेपाली खेललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, जापान लगायतका ३०० खेलाडीको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button